उर्जा

सौर्य ऊर्जाबाट लिप्ट सिँचाइ

१२ पुस, खलङ्गा । जुम्लाको हिमा गाउँपालिका– ३ स्थित मोप्ला गाउँमा सौर्य ऊर्जाबाट लिप्ट सिँचाइ प्रविधिबाट पानी आएपछि यहाँका बासिन्दामा खुशी छाएको छ ।

सो गाउँमा हरिचन्द्र रोकायाले सिँचाइ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीनदशक बितेको बताए । विसं २०५२ देखि उहाँले खेतमा धान रोपेका छैनन् । “सिँचाइ नहुँदा न अन्नपात राम्रोसँग उत्पादन गर्न पायौँ, नत खेती नै छोड्न सक्यौँ”, रोकायाले दुखेसो पोख्नुभयो, “गाउँ किनारामा बगेको हिमा नदी हेरेर बस्यौँ, खेत बाझो राख्यौँ सुक्खा जमीनमा लगाएको सिमी, मकै, जौ र गहुँ पनि राम्रोसँग उत्पादन भएन ।” पछिल्लो समयमा लिफ्ट सिँचाइ प्रविधिबाट पानी तानेर सिँचाइ गर्न थालिएपछि गाउँका स्थानीयवासी हर्षित भएका रोकायाले बताए ।

उनले भने, “अहिले लिफ्ट सिँचाइमार्फत पानी आउँदा मार्सी धानको रोपाइँदेखि व्यावसायिक योजना बनाएर थरिथरीका कृषि योजना र बेमौसमी तरकारीखती गर्न सहज भएको छ ।”

सो गाउँका २८५ घरधुरीले सिँचाइ गर्न पाएका छन् । झण्डै दुई हजार ५०० मुरी खेतमा सिँचाइ सुविधा पुगेको स्थानीयावासी गोपाल रोकायाले बताए । सो बाँझो खेतीयोग्य जमीनमा सिँचाइ हुने उनले जनाए ।

कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा गाउँमा ५० लाखमा आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण गरेर सफल परीक्षण भएपछि किसान दंग छन् । सो लिफ्ट सिँचाइमार्फत ७० मिटर उकालोसम्म पानी पु¥याउन सकिन्छ ।

सो गाउँका लागि २६ मिटर मात्र आवश्यक पर्ने कृषि प्राविधिक धर्मराज शाहीले बताए । पचास किलोवाटको सौर्य ऊर्जाको प्रयोग भइरहेको छ । सोलार ब्याट्रीको प्रयोग गर्दा खर्चिलो हुने भएकाले सोलार प्यानल मात्र राखेर दिउँसो सिँचाइ सुविधा दिन सकिने गरी बनाइएको प्राविधिक शाहीले जानकारी दिए ।

सो सिँचाइ आयोजना कर्णाली प्रदेशकै नमूना आयोजना भएकाले गत आर्थिक वर्षमा सञ्चालित १२ सिँचाइ योजनामध्ये यो योजना निकै जोखिमको थियो । यस्तो प्रकारको योजना कर्णालीका कुनै पनि जिल्लामा शुरु भइसकेका छैनन् ।

प्राविधिक स्टेटमेन्टबाहेकका सामग्री प्रयोग गर्न नदिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । घेरबारदेखि जाली क्यानल बनाउनका लागि चालू आर्थिक वर्षमा पहल भएको उनले जानकारी दिए ।