अन्तर्राष्ट्रिय

द्वन्द्वग्रस्त मुलुक इथियोपियामा निर्वाचनको घोषणा

१० पुस, इथियोपिया । द्वन्द्व ग्रस्त मुलुक इथियोपियामा आगामी जुन महिनामा गर्नेगरी संसदीय निर्वाचनको घोषणा गरिएको छ ।

निर्वाचन आयोगले अर्को बर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्नेगरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।

सन् २०२० मै निर्वाचन गर्ने तालिका भएपनि कोरोनाभाइरसको महामारीका कारण अहिले निर्वाचन हुन नसकेर अर्को बर्ष गर्ने तय भएको हो ।

त्यसैगरी देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटना र द्वन्द्वका कारण पनि निर्वाचन पछाडिका लागि सारिएको जनाइएको छ ।

इथियोपियामा गत दुई दिनमा भएका सशस्त्र झडपमा कम्तीमा १०० व्यक्तिको मृत्यु भएको राष्ट्रिय अधिकारवादी समूहहरूले बिहीबार बताएका थिए ।

बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरेको इथियोपियाली मानव अधिकार आयोगले जनाएको थियो ।

मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ ।

आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ ।