साहित्य

आउ मलामीहरु आउ

-मन्दिप मानव                                         -कविता

आउ मलामीहरु आउ
लाशहरुको एउटा थुप्रो छ यहाँ,
मिल्काउनु छ यसलाई
आउ मलामीहरु आउ!!
सही समय छ अहिले
मिल्काउने यसलाई,
नमिल्काए अहिले यसलाई,
सडेर दुर्गन्धित हुनेछ फेरी
आउ मलामीहरु आउ!!
धेरै पुरानो लाशहरुको थुप्रो हो यो,
धेरै नै भयो सडेर बसेको,
नफाले अब नि यसलाई दुषित्याउने छ फेरी,
आउ मलामीहरु आउ!!
शायद,
माया र आशाले होला,
मुर्दामा प्राण आउला भनेर
पुनः ब्रम्हनालबाट बाउरिएर आउने
कसैले फालेनन् अहिलेसम्म यसलाई,
आउ मलामीहरु आउ
बाउरिने छैन अव यो फेरी,
झन् सड्नेछ, गल्नेछ,
स्याउँ स्याउँ कीरा पर्नेछ
झन् झन् दुर्गन्धित हुनेछ ।
आउ मलामीहरु आउ
अब नि नजलाए यसलाइर्,
सयौं भूत, पिशाच र रक्त-पिपासुहरु
जन्मिएर आउने छन् फेरी,
र,
त्यहाँबाट टोल टोल गाउँ गाउँ र शहर पस्नेछन् ,
अनि,
परदेश लखेट्नेछन् हाम्रा युवालाई
बनाउने छन्, असाह्य र बेसाहारा,
हाम्रा बालबच्चा र वृद्ध वृद्धालाई,
ध्वस्त पार्नेछन्, गाउँ समाज र कंगाल बनाउने छन् देशलाइ,
त्यसैले,
हे बहिरा मलामीहरु अब त आउ,
लाशहरुको दुर्गन्धित थुप्रोलाई
अव त मिल्काउ, अब त ठेगान लगाउ,
अब त विवेक लगाउ,
आउ मलामीहरु आउ!!