साहित्य

धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार शर्मालाई

२ पुस, बागलुङ / धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गर्ने भएको छ । बुधबार बसेको प्रबन्ध समितिको बैठकले ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ समालोचनात्मक कृतिका लागि शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । रु २५ हजार राशिको सो पुरस्कार यही पुस १० गते ८६ औँ भूपि जयन्ती समारोहमा सर्मपण गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए।
यसअघि प्रतिष्ठानले पुरस्कारका लागि कवि भूपि शेरचनको व्यक्तित्व र कृतित्वमाथि लेखिएका समालोचनात्मक कृति आह्वान गरेको थियो । प्रतिष्ठानको मूल्याङ्कन समितिले शर्माको कृतिलाई छनोट गरेको हो । स्याङ्जाको पुतली बजार नगरपालिकामा जन्मनुभएका शर्माका ‘नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण’ २०५६, ‘कवि इच्छुकः कविता सन्दर्भमा’ ९२०६००, ‘पारिजातका कविताको अध्ययन’ ९२०६२० लगायत समालोचनात्मक कृति प्रकाशित छन् ।
शर्माका कथा, कविता र गीत सङ्ग्रह पनि प्रकाशित छन् । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई गरी आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ । गत वर्ष संस्थागततर्फको पुरस्कार थकाली समाज बुटवलले पाएको थियो । समाज भूपिको स्मृतिमा प्रवेशद्वार, सालिक, पुस्तकालय, अक्षयकोष निर्माणलगायत भाषा, साहित्यको प्रर्वद्धनमा सक्रिय छ ।
यस्तै सोही समारोहमा साहित्यकार लकाश पौडेललाई ‘भूपि सम्मान’ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । विसं २०७३ मा स्थापित पुरस्कार कोषमा हालसम्म रु सात लाखभन्दा बढी जम्मा भएको छ । जनस्तरबाट सहयोग जुटाएर पुरस्कार कोष खडा गरिएको हो । विसं १९९० मा मुस्ताङको टुकुचेमा जन्मिएका भूपि नेपाली साहित्यका प्रसिद्ध कवि छन् ।