साहित्य

ललितकला स्मृति सम्मान र ललितकला पुरस्कार प्रदान

२६ मङ्सिर, काठमाडौँ / काठमाडौँको अरुपण आर्ट ग्यालरीले नन्दादेवी खनाल ललितकला स्मृति सम्मान र ललितकला पुरस्कार प्रदान गरेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा सो सम्मान र पुरस्कार वितरण गरिएको ग्यालरीका निर्देशक रमेशनाथ खनालले जानकारी दिए।
यसवर्षको ललितकला क्षेत्रको लाइफ टाइम एचिभमेन्ट सम्मानबाट प्राध्यापक एवं अग्रज कलाकार राधेश्याम मुल्मी सम्मानित भएका छन् । यसैगरी क्रियटिभ आर्टिष्ट सम्मानबाट कलाकार रोशन प्रधान, एक्टिभ आर्ट अर्गनाइजेसन सम्मानबाट अन्तरराष्ट्रिय जलरङ समाज नेपाल र मोष्ट एप्रिसियटेड आर्टिष्ट सम्मानबाट कलाकार डिराम पाल्पालीलाई सम्मानित गरिएको छ ।
यस्तै इमरजिङ आर्टिष्ट सम्मान सौगात आचार्य, ट्रयाडिसनल आर्टिष्ट सम्मान राजप्रकाश तुलाधर र आर्ट मिडिया स्पेशल सम्मान दीपक श्रेष्ठलाई प्रदान गरिएको छ ।
यस्तै विसं २०७४ सालमा स्थापना भएको नगद पुरस्कारसहितको अरुपण ललितकला पुरस्कार नव कलाकार राजकी अर्याललाई प्रदान गरिएको छ । उक्त पुरकार तथा सम्मान छनोटका लागि ललितकला पत्रकार समाजका अध्यक्ष केशवलराज खनालको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
उक्त समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले सम्मान वितरण गरेर अरुपण आर्ट ग्यालरीले ललितकला क्षेत्रका कलाकारलाई हौसला प्रदान गरेको र यस्ता कार्यक्रम अन्य संस्थाबाट पनि आयोजना हुनुपर्नेमा जोड दिए । विसं २०७३ पछि सम्मान वितरण रोकिएकोमा यस वर्षबाट निरन्तररुपमा अघि बढाउने ग्यालरीले प्रतिबद्धता जनाएको छ । ग्लायरीका कार्यकारी निर्देशक रीता खनालको अध्यक्षतामा सम्मान वितरण गरिएको थियो ।