साहित्य

पत्रकार कँडेलको ‘मोसो’ उपन्यास बजारमा

२० मङ्सिर, चितवन / पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताउनुभएका पत्रकार सूर्यप्रकाश कँडेलको मोसो उपन्यास बजारमा आएको छ । युरेका पब्लिकेसनले ‘मोसो’ बजारमा ल्याएको हो । पत्रकार कँडेलको पहिलो साहित्यिक कृति हो ‘मोसो’ । चितवनमा रही पत्रकारितामा क्रियाशील कँडेल नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति चितवनका सल्लाहकारसमेत छन् । विसं २०५५ असोजमा चितवन सन्देश साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गरेका कँडेल गहन समाचार र फिचर लेखनमा दख्खल राख्छन् । हाल उनी नागरिक दैनिकको चितवन संवाददाता र सफल खबर डट कमको समाचार सम्पादकका रुपमा कार्यरत छन् । यसअघि उनले १४ वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकको चितवन समाचारदाता भई काम गरिसकेका छन् ।
व्यस्त दैनिकीका बीच उपन्यास लेखनका लागि समय मिलाउनु निकै चुनौतीपूर्ण रहेको बताउने कँडेलले पुस्तक लेख्न तीन वर्ष लागेको बताए । मोसो उपन्यासको कथावस्तु पत्रकारितासँग जोडिएको कँडेलको भनाइ छ ।
“उपन्यास आफैँमा एउटा बेग्लै संसार हो । त्यहाँ विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुन्छ । मोसोमा पनि यी सबै कुरा छन्”, पत्रकार कँडेल भन्छन्, “मोसोभित्र एउटा ठूलो सामाजिक सन्देश छ । पत्रकार भन्दैमा सबै दूधले नुहाएका हुँदैनन्, पत्रकारिताको आवरणमा गलत काम पनि हुन्छन्, भएका छन् भन्ने सन्देश ‘मोसो’ बाट पाइन्छ ।” दुई सय तीस पेजको सो पुस्तकको मूल्य रु ३८५ रहेको छ ।