बाग्मती

चन्द्रागिरि नगरपालिकाद्वारा एम्बुलेन्स खरिद

१५ मङ्सिर, काठमाडौँ / काठमाडौँको चन्द्रागिरि नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । काठमाडौँ उपत्यकाका प्रवेशद्वारमा रहेको सो नगरपालिकाले नगरवासीलाई स्वास्थ्य संस्थामा आवतजावतको सहजताका लागि आज एम्बुलेन्स खरिद गरेको हो ।
टाटा कम्पनीले भर्खरै सार्वजनिक गरेको एम्बुलेन्स चन्द्रागिरिले विशेष छुटका साथ रु १० लाखमा खरिद गरेको नगरपालिकाका प्रमुख घनश्याम गिरिले जानकारी दिए। खरिद गरिएको एम्बुलेन्स नगरपालिकाको मातहतमा सञ्चालन हुने उनको भनाइ छ । एम्बुलेन्स खरिदसँगै नगरपालिकाभित्रका बिरामीले राहत पाउने भएका छन् ।
नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाको ८ नं वडामा १५ श्ययाको नगरस्तरीय अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । पछिल्लो समयमा जुनसुकै एम्बुलेन्सले कोभिड–१९ का बिरामी बोक्न नमानेको अवस्थामा चन्द्रागिरिले नगरमा सञ्चालन गर्नका लागि एम्बुलेन्स खरिद गरेको हो ।
चन्द्रागिरि नगरपालिकाले दमकलसमेत खरिद गर्ने भएको छ । चन्द्रागिरिले नगरपालिकाभित्र आवश्यक पर्ने दमकल, एम्बुलेन्स र नगर प्रहरी भ्यान खरिदका लागि गत आर्थिक वर्षमा रु एक करोड ७० लाख रकम विनियोजन गरेको थियो । नगरप्रमुख गिरीले चन्द्रागिरिमा हुनसक्ने आगलागीका घटना तत्काल नियन्त्रणका लागि आवश्यक पर्ने दमकल खरिद लागेको बताए ।
यस्तै, नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाले चन्द्रागिरिको मुख्य सडकमा हुने दुर्घटनामा कमी ल्याउन आकाशे पुल निर्माण गर्न लागेको हो । नगरपालिकाले काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेश द्वारसमेत निर्माण गर्ने भएको छ । प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो यस नगरपालिकामा १५ वडा रहेका छन् ।