पु.समाचार

महामारीमा अपाङ्गता भएका व्यक्ति उपेक्षित

१५ मङ्सिर, काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले कोभिड–१९ का विषम स्थितिमा स्वास्थ्य, शिक्षा र जीवनयापन लगायत विषयमा अपाङ्गता भएका व्यक्ति उपेक्षित भएको जनाएको छ । ‘अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तरराष्ट्रिय दिवस’का पूर्वसन्ध्यामा आज आयोजित छलफल कार्यक्रममा महासङ्घका अध्यक्ष मित्रलाल शर्माले अन्य समयमा पनि आफूहरुका सवालमा राज्य र समाज गम्भीर नभएको आरोप लगाउँदै महामारीका समयमा यस क्षेत्रका व्यक्ति थप समस्यामा परेको बताए।
उनले अपाङ्गता भएका व्यक्तिलाई पछाडि पारेर समावेशीकरणको विषय पूर्ण नहुने जनाउँदै आवाजविहीनको आवाज उठाइदिन सञ्चारकर्मीसँग आग्रह गरे । यही मङ्सिर १८ गते मनाइने उक्त दिवसको नारा ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ तय गरिएको छ ।
महामारी रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा महासङ्घले गरेको अध्ययनमा ४१ दशमलव २२ प्रतिशत अपाङ्गता भएका व्यक्तिलाई कोरोना सङ्क्रमणबारे सामान्य जानकारी रहेको र ६ प्रतिशतमा कुनै जानकारी नभएको पाइएको महासङ्घका व्यवस्थापक मनिष प्रसाईँले बताए । उनले पछिल्लो समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपाङ्गताका विषयमा सचेत हुँदै अघि बढ्न थालेको पनि जनाए । नेपाल अपाङ्ग मानवअधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीशप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्ति अनलाइन शिक्षामा पहुँच कमजोर रहेको बताए ।