विचार/ब्लग

फेसबुकको लभ र ११ कक्षाकी म अनि मुम्बैको कोठी !

शोभा रावत / एका बिहानै जब मेरा आँखा खुले, र आँखा खुलेलगत्तै मेरो ध्यान मोबाईलमा गईहाल्यो । उठ्ने बित्तिकै मोईल फोन हेर्ने त सायद अपबादबाहेक सबैको बानी नै होला मेरोजस्तै । बेलुका अबेरसम्म त हेरेकै हो नि मोबाईल । त्यस्मा पनि फेसबुक, ट्वीटर, टिकटक । तैपनि फेरी उठेलगत्तै नहेरी नहुने यो कस्तो प्रेम बसेछ यो मोवाईल फोनसंग ।

अबेर रातीसम्म फेसबुकमा अनलाईन बसेको म आज पनि बिहानै फेरि मोबाईल हातमा परेलगत्तै मेरो आँखा फेसबुकतिर दौडिईहाले । इन्टरनेट वाईफाई अनपछि फेसबुक अनमात्रै के गरेको थिएँ म्यासेन्जरको ईन्बक्समा एउटा म्यासेज आयो, त्यो पनि कहिलै नबोलेको अपरिचित व्यक्तिको । म निन्द्राबाट मजाले ब्युँझिएँपनि आँखा राम्रोसंग खुलेको भने थिएन । तर जब गुड मर्निङ साथि भन्दै म्यासेजको घण्टी बज्यो तब मेरो निद्राले अलि– अलि झुलेको आँखा अझ राम्रोसंग उघ्रियो । अरुबेला साईलेन्ट मोडमा राख्ने मोवाईल ब्यूंझिएपछि भने हटाउने गरेकी छु ।

तर पनि फेसबुकमा आएको म्यासेजलाई मैले एकछिन वास्ता त गरिन पनि । सोचेँ फेसबुकमा पहिलो पटक बोलाएको छ त्यसै किन बाल्नु के सोच्छ होला ह्या बोल्दिन । तर सायद उमेरै अल्लि काँचो भएर हो कि कता कता त्यो म्यासेजलाई रिप्लाई दिन नपाउँदा कौतुहलता भने थियो मनमा । एक दुई पटक उसको प्रोफाईल र मुचुअल फ्रेण्डहरु भने हेरिरहेको थिए ।

तैपनि यो चञ्चले मनलाई अली कठोर जस्तो बनाउँदै फेसबुकको म्यासेज नभई अन्य समाचारहरुतिर ध्यान दिन पनि खोजेँ तर आँखा समाचारहरुतिर भएपनि मन भने त्यहि युवकको गुड मोर्निङ लगायत लेखेको म्यासेज तिरै थियो । तै पनि उस्को म्यासेजको रिप्लाई भने तुरुन्तै दिनेमा भने म थिइन । जब मैले त्यो युवकको फेसबुकमा आएको म्यासेजलाई करिब १० मिनेटसम्म पनि इग्नोर गरेँ तब फेरी हेलो हजुर के हामीसंग बोल्न नमिल्ने हो ? भनेर अर्काे म्यासेजको घण्टीले फेरिपनि मेरो ध्यान उस्को म्यासेजतिर तान्यो । अब भने म त्यो युवकको त्यो म्यासेजको उत्तर नदिई रहन सकिन ।

र अन्तमा मैले पनि उस्को म्यासेजको जवाफ दिएँ हजुर मिल्छ….. बस यति । जब मैले उस्को म्यासेजको जवाफ दिएँ उस्लाई पनि मसंग बोल्ने बल प्राप्त भएछ क्यारे त्यस्पछि मानौं कुनै अफिसमा ईन्टरभ्यु दिँदै छु जस्तै भान हुन थाल्यो मलाई । के गर्नुहुन्छ ? घर कहाँ हो ? घर मा को को हुनुहुन्छ ? आदी ईत्यादी उस्को प्रश्नको मैले पनि क्रमशै जवाफ दिँदै गएँ । तर उस्लाई प्रश्न गर्न भने अल्ली आँट आएन ।

यतिकैमा आमाले उठ्नको लागि आवाज दिनुभयो, सरु उठ चाँडै डाँडाँ माथि घाम आईसक्यो । घरमा तिन दाजुभाई र दुई दिदीपछिकी कान्छी छोरी थिएँ, जस्ले गर्दा सबैको प्यारी पनि थिएँ । घरमा सबैभन्दा सानी भएर हो की काममा खासै फोर्स गर्नुभएको थिएन ।

आमाले उठ्न आग्रह गरिसकेपछि अन्त्यमा फेसबुकको नयाँ साथीलाई बाई भनि इन्टरनेट वाईफाई अफ गरी घरको नियमित काम धन्दातीर व्यस्त भएँ । बिस्ताराबाट उठेपनि हातमुख धोई चिया नास्ता खाई नियमित झैं घरको सानो–तिनो काममा व्यस्त थिएँ तै पनि खोई किन मनमा त्यो युवकसंग बिहान विस्तारामै गरेको गफको भने याद आईरहेको थियो । मानौं कि उ र म बर्षाैदेखीका साथि थियौं जसरी। सायद उमेरै पनि उस्तै थियो होला कसैको बनावटी वा मीठो कुरामा चाँडै आकर्शित हुने खालको । भर्खरै त एसई पास गरेर प्लस टु जाँदै थिएँ ।

केहीबेरपछि मैले घरमा गर्ने भनेको कामहरु सकियो । र मेरो कक्षा ११ को परिक्षा पनि नजिकिँदै थियो, यतिकैमा मम्मीले भन्न थाल्नु भयो छोरी परिक्षा नजिकिँदै छ गएर पढ राम्रोसंग । त्यसपछि त मलाई झनै के खोज्छस् कानो आँखा भने झैं भईहाल्यो । पढ्ने त मात्रै बहाना त थियो कोठामा गएपछि त उहि मोबाईल फोन मै ब्यस्त हुनु नै थियो । त्यतिबेलाको समय न जिन्दगीको बारेमा केहि चिन्ता थियो, न अन्य कुराको तनाव नै आमा बुवाको काखमा थिएँ, कुनै जिम्मेवारीको भार पनि त थिएन । यस्तो लाग्छ त्यतिबेला म एउटा आकाशमा उडेको खुल्ला पन्छि थिएँ । घरमा केहि नियम कानुन त थिए सबैभन्दा कान्छी छोरी दाई, दिदीको थोर डर त लाग्दथ्यो नै तै पनि त्यहि जिवन सुखि, खुशी थियो ।

आमाले पढ्न भनेपछि एकैछिनमा आफ्नो कोठामा छिरेकी म फेरि पनि अनलाईनमा बसीहालेँ डाटा अन गरेर भएपनि । यत्तिकैमा मोबाईलको म्यासेन्जरमा आएको म्यासेजको टोन बजिहाल्यो र फेरी पनि म्यासेज आईहाल्यो । र म्यासेज उहि नयाँ साथीको थियो । यकछिन् त यस्तो लाग्यो कि मानौं उस्ले मलाई नै कुरेर बसेको थियो । फेरि पनि उनै प्रश्न सहित नास्ता भयो लगायतका ।

यस्तै गर्दै दैनिक जसो उस्को र मेरो फेसबुकमा घण्टौंसम्म कुराहरु हुन थाले । नम्बर साटा–साट पनि भए । यतिकैमा कतिबेला उसंग मन साटिएछ पत्तो नै भएन । फेसबुकबाटै कहिलै नदेखेको मान्छेप्रति कतिबेला म आर्कषित भएँ थाहा नै भएन । यो विषयमा मेरो घरमा भने सबै अनभिज्ञ थिए । कसैलाई केहि पत्तो थिए । यस्तै गर्दै उ र म फेसबुकमा कुरा गर्न थालेको आज १ वर्ष पनि भएछ । त्यतिबेला सम्म उस्ले मलाई गर्ने सम्बोधन तपाईँबाट त मा झरिसकेको थियो । भिडियोमा कुराकानी गर्ने दिनहुँ बानीपरिसकेको थियो । सिनेमामा हेर्दा देखेजस्तो मेरो कुनै नयाँ युवकसँग प्रेम बसेको जस्तो भईसकेको थियो ।

बाग्मती प्रदेशको सिन्धुपाल्चोक घर बताउन उ, आफुले नेपाली सेनामा जागीर गर्ने बताउने गर्दथ्यो र मीठा मीठा सपना देखाउँदथ्यो । उ भन्ने गर्दथ्यो हाम्रो बिहे भएपछि तिमीलाई पुरै नेपाल घुमाउँछु र म पनि दंग पर्दथे । यस्तै यस्तै ठुला–ठुला सपना र मीठा– मीठा उस्को कुरामा कतिबेला फसेछु पत्तो नै भएन । आज भोली गर्दा गर्दै म त उबिना बाँच्नै नसक्ने पो भए छु ।

र उसंग कुरा गरेको आज १ वर्ष १० दिन भएको थियो । मैले १२ कक्षामा पढ्दै थिएँ यत्तिकैमा उस्को फोन आयो……. सानु म तिमी बिना बाँच्न सक्दैन हामी बिहे गरौं म तिमीलाई लिन आउँदै छु । उस्को त्यो फोनले एकातिर यो मन प्रसंन्न थियो भने अर्काे तिर डर पनि पैदा भयो । तर उमेरै उस्तै भएर हो की मैले पनि तत्कालै घर परिवार आमा बुवा कोहि नसोचि भनिदिएँ……. अँ हुन्छ आउनु ।

सोहि दिन राती उ मलाई लिनका लागि मेरो घर नजिकैको चौतारीमा आएको थियो । र म पनि घरमा सबै सुतेको मौका छोपेर खुशी–खुशी उस्को साथ हिँडे । आफुलाई जन्माउने हुर्काउने दुःख गरेर पाल्ने, पढाउने आमा बुवाको कुनै प्रवाह नगरि दुई दिन फेसबुकमा कुरा भएको त्यो युवकको विश्वासमा अन्तमा मैले त्यो घर छोडे । जन्मेको घर छोडेर बाहिर निस्की त्यो युवकको सरणमा जाँदा मैले त्यतिबेला केहि असुरक्षा महसुश त गरेको थिएँ, जुन सुरक्षा मेरा दाईहरुले दिएका थिए त्यो केहि कमि लागेको थियो तर उस्को पछि जानु मेरो रहर या वाध्यता त्यो बुझ्न सकिन । आखिर म यस्तो प्रेममा परिसकेको थिएँ, त्यो जुनसुकै आँधीहुरी आएपनि रोक्नसक्ने अवस्था थिएन ।

म बिल्कुलै अन्जान थिएँ कि भित्रैबाट उ को हो ? र के हो र कहाँ पुर्याउँछ भनेर । उस्तै भएर हो की म उसको मायाँमा पागल वा उस्को त्यो मीठो बोली र उस्को शारीक बनावटमा आर्कषित थिए, आखिर उ एकदम ह्याण्डसम पनि थियो । तर म उस्को त्यो स्वार्थी पनबाट भने म बिल्कुलै अन्जान थिएँ । जो स्वार्थ उस्को म माथि थियो, यतिसम्मकी उसंग बिहेको सपना बुनेर घर छोडेकी म कतिबेला बम्बैको कोठिमा र कसरी पुगे मलाई नै थाहा छैन ।

उ संग घर छोडेर हिँडेकी म मनमा अनेकौं रहर सपना बुनेकी थिएँ । म सानो परिवारकी र खान पुग्ने परिवारकी थिएँ, सोहि दिन उस्ले मलाई नेपालगंज पुर्याएछ । कहिलै घर नछोडेकी म ठाउँ चिन्ने कुरा पनि आएन । उस्ले मलाई एउटा होटेलमा लिएर गयो, तब मनमा केहि डर पैदा हुँदै मैले प्रश्न गरेको थिएँ….. घर जाने भनेर कहाँ ल्याउनु भयो ? उस्को जवाफ थियो….. सानु आज घर जान मिल्दैन भोली आमा बुवा आउनु हुन्छ अनि जाउँला अल्ली केहि ढुक्क भयो ।

त्यो रात खाना खाई सकेर हामी सुत्यो हो मलाई त्यत्ति मात्रै याद छ । पछि मेरो अगाडी पुरै अन्धकार छायो र के भयो मलाई थाहा भएन । सायद म थाकेर निदाएं या अरु कारण थियो । र जव ब्युझिएँ अर्के कोठामा थिएँ, म जुन रात कोठामा सुतियो त्यो भन्दा विल्कुलै अलग थियो त्यो कोठा । भित्तैभरि विभिन्न तस्विरहरु टाँगीएका, कोठा सजाईएका, बाहिर मानौं कुनै नाच गानको कार्यक्रम चलिरहेको जस्तो ।

गहिरो निन्द्राबाट ब्युँझिएकी म सुरुमै उस्ललाई खोज्न थालें कोठामा नभेटेपछि बाहिर जान खोजेँ तर बाहिबाट कसैले ढोका लगाईदिए छ । सायद उ बाहिर गएको होला मलाई कोठामा छोडेर म निन्द्रामा भएको बेला यहि सोचेँ । मनलाई सान्त बनाई बसेँ तर किन हो कुन्नी आज शरिर एकदमै भारी लागीरहेको थियो मानौं मेरो शरिरमा रातभर कसैले भारी सामान राखिदिएको थियो ।

र बिस्तारै मनमा थोरै डर र आसंका पनी उब्जिरहेको थियो  तर किन खोई । यत्तिकैमा ढोका खुल्यो र एकजना डरलाग्दी आईमाई आई र हिन्दीमा भन्न थाली …….ओ लड्की रेडि होजा ! हिन्दी सिरीयलहरु हेरीकन केहि हिन्दी भाषा बुझ्न सक्ने भएकी थिएँ र त्यो आईमाईले भनेको बुझिहालेँ उस्ले मलाई तयार हो भन्दै थिई ।

मैले सोचे आज मेरो बिहे हो त्यसैले तयार हुन भनेकी भनेर, मैले उस्लाई प्रश्न गरें तर बिनय खोई त ? त्यस्पछि उस्ले दिएको त्यो अपत्यारीलो तर सत्य उत्तरले मैले टेकेको जमिनै भासियो, छाँगाबाट खसेझैं भए र आमा बुवाले भनेको कुरा सम्झिए छोरी कोही अन्जान व्यक्तिको भर नपर्नु जस्को भर पर्दा आज म नर्कमा आएँछु । उसले भनेकी थिई तलाई त्यो केटाले १ लाखमा म संग बेचेर गयो र अब तँ मेरो मान्छे होस् । त्यसपछि रोई कराई बस्नु बाहेक मेरो अगाडी कुनै बिकल्पनै थिएन ।

भागेर जाने कुनै विकल्प थिएन र मर्नपनि पाईदैन थियो । के गर्नु जस्लाई विश्वास गरे उसैले घात गर्याे केहिदि त धेरै रोएँ कराएँ, ति राक्षसहरुसंग आँफुलाई बचाउन धेरै प्रयास गरेँ तर असर्मथ भएँ, अन्तमा म गलेँ हारे र मरेर भएपनि बाँच्ने कोसिश गरे । कहाँदेखी सुरु भएको यात्रा कहाँ आएर रोकियो पत्तै भएन । आजको अवस्थालाई बिश्वास गर्नु सिवाय केहि गर्न सकिएन । बस यति थियो मेरो फेसबुकबाट मायाँ बसेपछिको कहानी ।

त्यसकारण फेसबुक वा सामाजिक सञ्जालमा भेट भएका मान्छेको कहिलै पनि आँखा चिम्लिएर कसैले विश्वास नगर्नु । यति भन्दैमा सबै फेसबुकका साथी खराब हुन्छन् भन्ने चाँहि होईन । बस सहि र गलत मान्छे चिनेर मात्रै फेसबुकमा साथी बनौं । भनिन्छ नि हरेक कुराको गुण र दोस दुबै हुन्छ । हो यसरी नै आज भोली सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, ईमो, टिकटकलगायतले मानिसका हरेक काम सजिलो र छिटो गरेको छ भने अर्काे तिर समाजमा विभिन्न बिकृति तथा आपराधिक घटनाहरुपनि भईरहेका छन् ।

फेसबुकमा अपरिचत व्यक्तिसंगको चिनजानले कयौंले लाखौंको धनमाल गुमाएका छन्, कयौंले ज्यान गुमाएका छन्, कयौं चेली बलात्कृत भएका छन्, त कयौं चेली बम्बैको कोठिसम्म पुर्याईएका छन् । अर्काेतिर फेसबुकले आज विश्वलाई एउटै घर र परिवार जस्तो बनाएको राम्रो दृष्टान्तसमेत छ । सबैलाई एउटै परिवार बनाएको छ बर्षाैं पुराना साथीहरुसंग मिलन गराउनुका साथै नजिकै भएजसरी फोनकल गर्न त्यो पनि सस्तो मुल्यमा त्यस्तो पनि अबसर जुराएको छ ।

आज भोली बुझने गर्छु कि मेरो उप्रतिको त्यो मायाँ नभएर एउटा आर्कषणमात्रै थियो जो उस्को मिठो– मिठो कुरामा मख्ख भएको थियो ।

(नोटः यो कथाकी पात्र काल्पनिक हन्, कसैसँग पनि प्रेम सम्बन्ध राख्दा र बिबाह गर्दा अलि ध्यान पुर्याएर मात्र गर्नुपर्छ भन्ने लेखकको दृष्टीकोण हो ।)