बाग्मती

तातोपानी धाराको मर्मत थालनी

१२ मङ्सिर, चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थित तातोपानी धाराको मर्मत शुरुआत भएको छ । नेपाल र चीनको सिमानामा अवस्थित सो धारा वाग्मती प्रदेशको करिब १० करोड बजेटबाट सुधार थालिएको हो । विसं २०८० भित्र सम्पन्न गर्ने गरी ल्पोम ढलान, उद्यान, पोखरी तथा अपाङ्गमैत्रीसहित धारालाई सुविधायुक्त बनाउने उद्देश्यले सुधार गरिन लागिइएको हो ।

धाराको तल्लो भागमा रहेको भोटेकोशी नदीबाट २० फिट उचाइको ल्पोम ढलानको काम अन्तिम चरणमा पुगेको छ । ढलान पछि ३८ मिटर लम्बाइको क्षेत्रमा पोखरी निर्माण तथा उद्यानसमेत बनाइने गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

निर्माणका लागि प्रदेश सरकारले आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरी गत वर्ष दुई करोड दुई लाख १७ हजार ८२९/९५ मा बन्दना भगवती निर्माण सेवा प्राइभेट लिमिटेडलाई ठेक्का स्वीकृत गरेको थियो । नदी कटानले धाराको तलतिरको जमिनमा क्षति पु¥याउँदै आएको परिपेक्षमा ढलानपछि सुरक्षित महसुस गरिएको धारा समितिका संयोजक शुरवीर तामाङले जानकारी दिए ।

उक्त क्षेत्रलाई व्यापक सुधार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्य राखी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले हालै अवलोकन समेत गरेका थिए । ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण रहेको उक्त धारा तथा आसपास क्षेत्रमा सुधारको लागि गाउँपालिकाले १३ करोड लाग्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरी पेश गरेको थियो । प्रदेश सरकारले पनि पुनः डिपिआर तयार गर्ने भएकाले करिब १० करोड निकासा हुने पालिकाको अपेक्षा रहेको छ । त्यहाँस्थित शिव मन्दिरको पनि पालिकाले नै ५० लाख खर्च गरी निर्माण गर्ने भएको छ ।

चीनसँगको व्यापारिक नाका खुलेसँगै स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढेको थियो । यहाँस्थित सातवटा धारामा महिला र पुरुषले छुट्टाछुट्टै स्नान गर्ने व्यवस्था मिलाइ शौचालय, कपडा फेर्ने कक्ष तथा बाफ लिने पोखरीको बन्दोबस्त मिलाइएको छ । यसैगरी प्रवेशको लागि निश्चित समय तोकी शुल्कसमेत लगाउँदै आएको छ ।

चौवालिस डिग्री सेल्सियस तापक्रम रहेको धाराको पानीमा गन्धकको मिश्रण भएकाले चर्मरोग तथा पेटसम्बन्धी रोग निको हुने जनविश्वास रहेको छ । नजिकै अमिलो पानीको धारासमेत रहेको छ । त्रेतायुगमा श्रृंगी ऋषि मानसरोवर जाने क्रममा कार्तिक शुक्ल तृतीयाका दिन त्रिशूलले पहरा खोपेर तातोपानी निकाली स्नान गरेका किंवदन्ती यहाँ रहेको छ । भगवान् रामको जन्म भएको खबर पाएपछि चैत शुक्ल तृतीयाका दिन सोही धारामा स्नान गरी अयोध्या फर्केको हिमवत खण्डमा उल्लेख छ । सोही कारण प्रत्येक कात्तिक र चैत महिनाभरि स्वदेशी र विदेशी भक्तजन स्नानको लागि पुग्ने गरेको र मेला नै लाग्ने गर्दछ ।