पु.समाचार

सैनामैनामा स्मार्ट रिफ्रेस सेन्टर शिलान्यास

१२ मङ्सिर, बुटवल । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी नै अहिलेको सङ्कट भएको बताएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ९ स्थित पीपलडाँडामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको आज शिलान्यास गर्दै उनले पार्टी एकतालाई सफल बनाउन दुई आन्दोलनका मुख्य नेताबीचको समझदारी र एकता न्यूनतम शर्त भएको स्पष्ट गरे ।

नेता पोखरेलले सहमति र सहकार्य अहिलेका सन्दर्भमा अपरिहार्य आवश्यकता भएकामा जोड दिनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले कानून निर्माणमा प्रदेश अग्रणी भएको जिकिर गर्दै सबैभन्दा बढी पूँजीगत खर्च हुने प्रदेश पनि लुम्बिनी नै भएको बताए।
राष्ट्रियसभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले अव्यवस्थित बसोबासको समस्या समेत सम्बोधन गरिने बताए । भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सभ्यता र संस्कृति निर्माणमा सेन्टरले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रुपमा यसलाई विभिन्न जिल्लामा विस्तार गरिने उल्लेख गरे । प्रदेशसभामा सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले नगरपालिकाको सो क्षेत्रलाई दूधको पकेट क्षेत्रका रुपमा घोषणा गरेर प्रदेश सरकारले काम गरिरहेको बताए।
करीब दुई बिघा क्षेत्रफलमा निर्माण हुन लागेको सो सेन्टरको प्रथम चरणको लागत तीन करोड ५५ लाख ७९ हजार ५१० छ । प्रदेश सरकारले त्यस्तो सेन्टर रुपन्देहीबाहेक, नवलपरासी, कपिलवस्तु, दाङ र बर्दियामा निर्माण गर्न लागेको छ ।
सैनामैनामा निर्माण हुन लागेको सेन्टरलाई नगरपालिकाले जग्गा उपलब्ध गराएको हो । अत्याधुनिक सार्वजनिक शौचालयसहितको सो सेन्टर निर्माण दुई वर्षमा पूरा भएपछि स्थानीय सरकारलाई नै हस्तान्तरण हुनेछ । चिया, कफी पाइने सो सेन्टरमा लामो दूरीका सवारी चालकलाई आरामका लागि व्यवस्था गरिएको छ ।
कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की र उपप्रमुख विना राना, रुपन्देहीका डिभिजन प्रमुख राजकुमार चौधरी, खानेपानी महाशाखा प्रमुख ध्रुव धिताललगायतले सो परियोजनाबाट सरसफाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।