गण्डकी प्रदेश

लमजुङमा ज्येष्ठ नागरिकले बनाए विश्रामस्थल

११ मङ्सिर, लमजुङ / जिल्लाको बेँसीशहर नगरपालिका–८ स्थित शेरा चौतारा नजिकै विश्रामस्थल निर्माण भएको छ ।
बेँसीशहर नगरपालिका–८ का ८५ वर्षीय बिर्खबहादुर पौडेलले रु तीन लाख चार हजार २७४ आफ्नै लगानीमा विश्रामस्थल निर्माण गरेका हुन्।
सो विश्रामस्थलको संविधानसभा सदस्य जमिन्द्रमान घलेले बुधबार उद्घाटन गर्दै नगरभित्रका सार्वजनिक जग्गा हराउँदै गएको अवस्थामा यसको खोजी र संरक्षण गर्नका लागि नगरपालिका लाग्नुपर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कृष्णप्रसाद अधिकारी र नेपाली काँग्रेसका श्रीकान्त घिमिरेले नयाँ पुस्ताले समेत यस्ता सामाजिक र मानवीय कार्य गर्नेतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औल्याए ।
आफ्ना पूर्खा बाजे मेजर कृष्णनन्द पौडेलले २३४ वर्ष अघि शेरा चौतारा स्थापना गरेको र उनको स्मृतिमा नै सोही चौतारा नजिकै विश्रामस्थल निर्माण गरिएको पौडेलले बताए । जस्तापाताको छानो भएको सो विश्रामस्थलमा करिब ६० जना बस्न मिल्नेछ । विश्रामस्थल निर्माण भएपछि यहाँ यात्रु, पर्यटक, ज्येष्ठ नागरिकलाई विश्राम गर्न तथा सुरक्षाकर्मीलाई घामपानीका बेला ओत लाग्नलाई मिल्नेछ । विश्रामस्थलको निर्माणसँगै बर पिपलको बोट रहेको चौतारालाई समेत संरक्षण गर्दै रङरोगन गरिएको छ । विश्रामस्थल निर्माणले स्थानीयवासी खुशी भएका छन् ।