सुदूरपश्चिम

विकट बस्तीमा खानेपानी, ११६ उपभोक्तालाई सहज

११ मङ्सिर, डडेल्धुरा / परशुराम नगरपालिका–३ का कालीढुङ्गी, आमथला, हल्द्वानी र सिमल्टा गाउँमा खानेपानी उपलब्ध भएको छ । विकट बस्तीका रुपमा रहेका ती गाउँका ११६ उपभोक्ताले अहिले खानेपानी सहज रुपमा उपभोग गर्न पाएका हुन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत आर्थिक वर्षदेखि कालापातल, कालीढुङ्गी, आमथला, हल्द्वानी र सिमल्टामा खानेपानी आयोजना कार्यान्वयन गरेको थियो । आयोजनामार्फत छ किलोमिटरको दूरीमा रहेको कालापातल खोलाबाट चारवटै बस्तीसम्म खानेपानी पु¥याइएको हो ।
यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु तीन करोड ४८ लाख बजेट खर्च भएको थियो । लकडाउन अवधिमा पाइप लाइन निर्माण सम्पन्न भई बस्तीसम्म खानेपानी पुगिसकेको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर धामीले जानकारी दिए ।
मुहानदेखि बस्तीसम्म खानेपानी पु¥याउन निकै चुनौतीपूर्ण भए पनि शीर्षखोलामा रोपवे क्रसिङ गरेर खानेपानी बस्तीसम्म पु¥याउन सम्भव भएको कार्यालयका इञ्जिनीयर गोविन्द देवकोटाले बताए । अहोरात्र खटेर काम गरेकाले लक्ष्यभन्दा केही समयअघि नै योजना सम्पन्न हुने चरणमा पुगिसकेको उनले बताए ।
स्थानीय बासिन्दाले अहोरात्र श्रमदानसमेत गरेका थिए । खानेपानीको चरम अभाव झेलिरहेको अमरगढी नगरपालिका–१० राईगाउँमा समेत चालू आर्थिक वर्षमा खानेपानी पुगिसक्ने कार्यालयले जनाएको छ । नवदुर्गा गाउँपालिका–४ को दलित बस्तीमा समेत चालु आवमै खानेपानी योजना निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयका डिभिजन प्रमुख रवीन श्रेष्ठले जानकारी दिए।