खेलकुद

हृदयघातको कारण अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेण्डको मृत्यु

११ मंसिर, एजेन्सी  । अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ । पूर्व अट्याकिङ मिडफिल्डर म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो ।

हृदयघातको कारण म्यारोडोनाको निधन भएको बीबीसीले जनाएको छ । दुई साता अघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए ।

उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् । म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३-२ ले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।

त्यस समय म्यारोडोना टिमका कप्तान रहेका थिए । त्यहिँ विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध २-१ को जित निकाल्दा म्यारोडोना नायक बनेका थिए । उनले दुबै गोल गरेका थिए । इंग्ल्यान्डविरुद्ध उनले गरेको पहिलो गोललाई ’ह्यान्ड अफ गड’ भन्ने गरिन्छ । किनकी उनले हातले गोल गरेका थिए । तर, रेफ्रीके नदेख्दा उक्त गोललाई मान्यता दिइएको थियो ।

अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए । म्यारोडोनाले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभिया जस्ता युरोपका ठुला क्लबबाट खेलेका थिए । अर्जेन्टिनोस जुनियर्सबाट व्यवसायिक फुटबलको सुरुवात गरेका उनले १९८१ देखि ८२ सम्म बोका जुनियर्सबाट खेलेका थिए ।

त्यसपछि उनी बार्सिलोना आएका थिए । उनले सन् २०८२ देखि ८४ सम्म बार्सिलोनाका लागि ३६ खेलमा २२ गोल गरेका थिए । यस्तै १९८४ देखि १९९१ सम्म इटालियन क्लब नापोलीबाट उनले खेलेका थिए । नापोलीका लागि १८८ खेलमा ८१ गोल गरेका थिए ।

नापोलीबाट सेभिया गएका उनले त्यहाँ एक सिजन बिताएका थिए । सेभियामा उनले २६ खेलमा ५ गोल गरेका थिए । उनले क्लब फुटबलको अन्त्य साम १९९७ मा बोका जुनियर्सबाट गरेका थिए । तर, म्यारोडोना करिअरको अन्त्यतिर भने लागूऔषधको दुर्व्यसनमा फसेका थिए । लागूऔषध प्रयोगकै कारण उनी पटक पटक जेल समेत परे । उनी कोकिन सेवन गर्ने गर्थे । सन् १९९१ मा उनले १५ महिनाको प्रतिबन्ध समेत भोगेका थिए ।

म्यारोडोना लागूऔषध दुर्व्यसनबाट मुक्त हुनका लागि क्युवाको रिह्याब सेन्टरमा समेत बसेका थिए । क्युवामा ४ वर्ष रहदा क्युवाली राष्ट्रपति फिडेल क्यास्ट्रोसँग निकै नजिक भएका थिए । उनलाई क्युवामा निकै सम्मान दिईएको थियो ।