लुम्बिनी

कपिलवस्तुका बेपत्ता रहेका फुच्चे गाइड भनिने राहुल फेला

१० मङ्सिर, चन्द्रौटा / कपिलवस्तुका ‘फुच्चे टुरिष्ट गाइड’ भनेर चिनिने राहुल शाहनी आज फेला परेका छन् ।
कपिलवस्तु नगरपालिका–३ घर भएका शाहनी कात्तिक १७ गते सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए । गौतमबुद्ध जन्मस्थल लुुम्बिनी र कपिलवस्तुुको तिलौराकोट घुुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई उनीहरूकै भाषा बोलेर पर्यटकीयस्थलको बारेमा जानकारी दिन सक्ने शाहनीलाई प्रहरीले कपिलवस्तु यशोधरा गाउँपालिका–७ मर्यादपुर नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
पर्यटकीयस्थल तिलौराकोटमा आउने पर्यटकको गाइड काम गर्ने शाहनी बेपत्ता भएपछि परिवार, प्रहरी तथा अन्य सरोकारवालाले खोजी कार्य गरेका थिए । प्रहरीले शाहनीलाई बुबा रिङ्कु मल्लाहलाई सकुशल जिम्मा लगाइएको छ । सामान्य परिवारका ११ वर्षीय शाहनी गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको पर्यटकीय महत्वका विषयमा बुझाउने गर्छन् । उहाँसँग नेपाली, हिन्दी, अङ्ग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान छ ।
कहाँ गएका थिए राहुल
कात्तिक १७ गते विद्यालय जान्छु भनेर साइकलसहित निस्किएका शाहनी खुनुवा हुँदै राति ११ बजे भारतको बढनी पुगे । बढनीबाट गोरखपुर जाने बसको छतमा साइकल राखेर १८ गते बिहान ११ बजे गोरखपुर ओर्लिए ।
गोरखपुरबाट बरालगञ्ज जाने बस चढेर ३ः३० बजे बेलिपार्कमा आमाको काकाकी छोरी मिरा शाहनी घरमा पुगे । दिदीको घरमा झण्डै २० दिन बसेपछि आमाबुबाको मायाले सताएकोले फर्किएको शाहनीले बताए । जम्मा ३०० भारतीय रकम आफूसँग रहेकाले कतिपय ठाउँमा यात्रु भाडा दिएको र कतिपय ठाउँमा कार्ड देखाएर भाडा नदिने गरेको शाहनीले बताए।
लकडाउनपश्चात् विद्यालय हप्तामा दुई दिन मात्र सञ्चालन हुने गरेको तर घरबाट सधैँ पढ्न जाउँ भन्दै दबाब दिने गरेकाले आफू भागेको प्रहरीसमक्ष उनले बताएका छन् । यता परिवार पक्षले कसैले अपहरण गरेको हुनसक्ने बताउँदै आएका छन् ।