बाग्मती

विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार अर्याललाई

१० मङ्सिर, काठमाडौँ / विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो ‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पाल्पाका पत्रकार राजेश अर्याललाई दिने भएको छ । प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठका अध्यक्षतामा मङ्गलबार बसेको प्रतिष्ठानको बैठकले पाल्पास्थित सामुदायिक रेडियो मदनपोखरामा दुई दशकदेखि कार्यरत अर्याललाई पुरस्कार दिने निर्णय गरेको हो ।
रेडियोमार्फत ग्रामीण क्षेत्रका सूचना तथा समाचारलाई उजागर गर्न, आवाजविहीनको आवाज उठाइदिन र गाउँलेलाई सञ्चारमाध्यमको पहुँच बढाउन २०५६ सालदेखि निरन्तर योगदान पु¥याएवापत उनलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका सचिव जीवन भण्डारीले जानकारी दिए ।
कसजुको पहिलो स्मृति दिवसका अवसरमा पुरस्कारको घोषणा गरिएको हो । उपयुक्त समयमा कसजुको गृहजिल्ला पाल्पामैसमारोह आयोजना गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतिष्ठानले कसजुको भावनानुसार ग्रामीण पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिएका पत्रकारलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्न थालेको हो । प्रतिष्ठानले कसजुको विशेष योगदान रहेका बालबाहित्य, सूचनाको हक र सूचना प्रविधिको प्रयोगका क्षेत्रमा विशिष्ट योगदान गर्नेलाई पनि सम्मान गर्ने, अध्ययनअनुसन्धान गर्ने, विभिन्न सामग्री प्रकाशन गर्नेलगायत योजना बनाएको छ ।
गत वर्ष आजकै दिन दिवङ्गत ग्रामीण पत्रकारिताका अगुवा, सहित्यकार एवं पहिलो प्रमुख सूचना आयुक्त कसजुको स्मृतिमा केही महिना अगाडि प्रतिष्ठान स्थापना भएको थियो । उनको निधनको ४५औँ दिनका पुण्यतिथिमा पाल्पाली सङ्गम काठमाडौँले श्रद्धाञ्जलिसभा आयोजना गरेर प्रतिष्ठान गठन गर्ने घोषणा गरेको थियो । विक्रम संवत् २००४ मा पाल्पाको तानसेनमा जन्मिएका कसजुका बालसाहित्यसम्बन्धी दर्जनौं पुस्तक प्रकाशित छन् । गाउँले जनजीवनका लागि उपयोगी ‘देउराली’ पत्रिका निकालेर कसजुले नेपालमा ग्रामीण पत्रिकाको शुरुआत गरेका थिए ।