प्रदेश 1

आठ महिनासम्म पर्यटकविहीन बनेको रौतापोखरीमा पर्यटक बढ्दै

१० मङ्सिर, उदयपुर / कोभिड–१९ को कारण झण्डै आठ महिनासम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरी क्षेत्रमा तिहारलगत्तै पर्यटक आगमन बढेको छ । भाइटीकापछि दैनिक रौता क्षेत्रमा पर्यटक बढेर अहिले दैनिक २०० हाराहारी आउने गरेको रौता होमस्टेका सदस्य तथा होटल व्यवसायी राजबहादुर मगरले बताए ।
होटेल सञ्चालक खड्गकुमार राईका अनुसार, अहिले दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको र दैनिक उपस्थिति भएकामध्ये ५० प्रतिशत पर्यटक रौतामा नै बास बस्ने गरेको बताए । सात–आठ महिनासम्म बन्द रौताका होमस्टे तथा होटल अहिले पर्यटकको उपस्थितिसँगै राम्ररी चल्न थालेको होटल सञ्चालिका अनुराधा मगर बताउ छन् । पर्यटक बढ्दै गएकोबारे रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का यसो भन्छन्, “कोभिड सङ्क्रमणको प्रभाव अहिलेसम्म यस क्षेत्रमा छैन, लकडाउन खोलिएको छ भने हिउँद लागेसँगै अब रौता क्षेत्रबाट धेरै क्षेत्रका रमणीय दृश्य देखिने हुनाले पनि तिहारलगत्तै पर्यटक बढीरहेका छन् ।”
होमस्टे, होटेलदेखि सडक र बिजुलीसम्म व्यवस्था भइरहेकाले रौता क्षेत्र पर्यटकका लागि जिल्लाकै महत्वपूर्ण धार्मिक र सुन्दर पर्यटकस्थल बन्दै गएको समेत गाउँपालिकाका अध्यक्ष खड्काले बताए।
रौतापोखरी र पञ्चकन्या देवीको मन्दिर दर्शन, पूजा आराधनासाथै यहाँबाट देखिने मनोरम दृश्यका लागि पर्यटक आउने गरेको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले बताए । हिउँद लागेसँगै मौसम सफा हुने र चारैतिरको रमणीय दृश्य रौता क्षेत्रबाट देख्न सकिने हुनाले पनि धेरै पर्यटक यस क्षेत्रमा आउने गरेको वडाध्यक्ष राई बताउछन् ।
समुद्र सतहबाट दुई हजार मिटरको उचाइको पहाडी क्षेत्रमा रहेको रौता क्षेत्रबाट सगरमाथा, आमादब्लाम, ल्होत्से, चोयु, कञ्चनजङ्घा, अरुणबरुण क्षेत्रसहित आठवटा हिमशृङ्खला देख्न सकिने रौताका स्थानीय बमप्रसाद तिम्सिना बताउछन् । यस्तै दक्षिणतिर तराईका मिथिला प्रदेश जनकपुर, कमला नदी, सिरहा, सप्तरी, सप्तकोशी नदी, सुनसरी, इटहरीसहितका दृश्य देख्न सकिन्छ ।
रौता क्षेत्रमा मुख्य गरेर नेपालको पूर्वी क्षेत्रको मोरङ, झापा, सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाहीसहित उदयपुर, सिन्धुली क्षेत्रका पर्यटकको धेरै आउने होमस्टे सञ्चालक बुद्धिमान मगरले बताए ।