बाग्मती

वाग्मती सभागृह र प्रदेशसभा भवन शिलान्यास

१० मङ्सिर , वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राज्यका साझा सम्पत्ति तीनै तहका सरकारले सदुपयोग गर्न सक्ने बताएका छन् । वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयको सभागृह निर्माणको आज बिहान शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले बन्दै गरेको भवन प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयका लागि निर्माण गरे पनि सरकारी निकायले आवश्यकतानुसार उपयोग गर्न सक्ने बताए ।
हेटौँडा उपमहानगरपालिका –२ स्थित कार्यालयको जमीनमा भवन निर्माण प्रारम्भ भएको हो । मुख्यमन्त्री पौडेलले स्थायी राजधानी घोषणासँगै अस्थायी मानसिकता हट्दै गएको उल्लेख गर्दै प्रदेश सरकारले अब स्थायी संरचना निर्माण गर्दै जाने बताए। उनले निर्माण कम्पनीलाई निर्धारित समयअगावै कामसक्न अनुरोध गर्दै काम चाँडो सके पुरस्कृत गरिने तथा तोकिएको समय कटाए आवश्यक कारवाही गरिने चेतावनी दिए ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले मोटरबाटो नपुगेका स्थानमा मोटरबाटो, आवासविहीनका लागि घर, पानीका लागि धारा तथा कुलो एवं अन्य आवश्यकता पूरा गर्ने गरी काम भइरहेको बताए । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले प्रदेश सरकारसँग सहकार्यमा काम गर्दा धरै उपलब्धि हात पार्न सकिएको बताए ।
प्रदेशसभा भवन शिलान्यास
हेटौंडा –१० मा निर्माण हुन लागेको प्रदेशसभा भवनको पनि आज शिलान्यास गरिएको छ । भवन शिलान्यास गर्दै वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय, विभिन्न मन्त्रालयलगायत संरचना एकैस्थानमा निर्माण गर्नका लागि प्रदेश सरकार लागिपरेको बताए । सभामुख श्रेष्ठले सामरिक हिसाबले उपयुक्त स्थानमा राजधानी तोकिएको र त्यो महत्वलाई कायम राख्दै संरचना निर्माण गरिनुपर्नेमा जोड दिए। कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले हरेक विकासनिर्माणका काम तीन तहका सरकार र जनसहभागितामा दु्रतगतिमा अगाडि बढेको बताए । प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको काम गराइप्रति खुशी व्यक्त गर्दै आगामी निर्वाचन अगावै संसदीय क्रियाकलापमा प्रयोग गर्न सक्ने गरी छिटो सभागृह निर्माण सक्न आग्रह गरे ।