बाग्मती

मकवानपुरमा ६७३ घरको छानो फेरिँदै

वाग्मती, १० मङ्सिर । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मकवानपुरको निर्वाचन क्षेत्र नं २ मा ६७३ विपन्न परिवारको खरको छानो फेरिने भएको छ । क्षेत्र नं २ अन्तर्गतका हेटौँडा उपमहानगरपालिकाको केही क्षेत्र, थाहा नगरपालिका, मनहरि, राक्सिराङ, इन्द्रसरोवर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका ६७३ घरको खरको छानो हटाएर जस्तापाताका छानो लगाइने भएको हो ।

मकवानपुर क्षेत्र नं २ का तर्फबाट प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको सहभागितामा जिल्ला समन्वय समिति मकवानपुरले लाभग्राही सङ्ख्या निर्धारण गरेको जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७६/७७ मै कार्यान्वयन हुनुपर्ने कार्यक्रम कोरोना भाइरस महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेकाले यस वर्ष निरन्तरता दिइएको प्रमुख खुलालले बताए ।

जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत हेटौँडा उपमहानगरपालिका क्षेत्रको वडा नं १, ३, ११ र १९ मा १०० घर, भीमफेदी गाउँपालिकामा ५०, कैलाश गाउँपालिकामा ७५, मकवानपुरगढी गाउँपालिकामा ५०, मनहरि गाउँपालिकामा १००, राक्सीराङ गाउँपालिकामा १७३ घर र इन्द्रसरोवर गाउँपालिकामा २५ घर सुरक्षित नागरिक आवास निर्माणअन्तर्गत छाना परिवर्तनका लागि निर्धारण गरिएको छ ।

उक्त कार्यक्रमअन्तर्गत पालिकाका अतिविपन्न, गरिब र भूकम्पपछि पुनःनिर्माणको लाभग्राहीको सूचीमा नपरेका परिवारले मात्र यो सुविधा प्राप्त गर्ने छन् ।