प्रदेश 2

मदिरा सेवन गरी हत्या गरेर फरार भएका दुई अभियुक्त पक्राउ

९ मङ्सिर, रौतहट / मदिरा सेवन गरी हत्या गरेर फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक मदिरा सेवन गरी वृन्दावन नगरपालिका–७ सखुअवा धमौराका अमिरी पासवानलाई हत्या गरेर फरार भएको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय बिन्द पासवानलाई
पक्राउ गरिएको हो ।
अत्यधिक मदिरा सेवन गरी विकास पासवानलगायत केही व्यक्तिको समूहले सोमबार साँझ घरतर्फ जाँदै गरेका अमिरी पासवानलाई गालीगलोज तथा कुटपिटसँगै जोरले धक्का दिँदा लडेर उनको टाउकामा गम्भीर चोट लागेको थियो । घाइते पासवानलाई तत्काल एम्बुलेन्सबाट गरुडास्थित सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा गए राति ८ः१५ बजे अस्पतालमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनाको केही बेरपछि आरोपी विकास पासवानलाई उनको आफ्नै घरबाट र त्यसको चार घण्टापछि उनकै बयानका आधारमा अर्का आरोपी बिन्द पासवानलाई लुकीछिपी बसेको अवस्थामा उनको घरैबाट विशेष सूचनाका आधारमा पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।
अभियुक्त दुवै जनामाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाउने तयारी भइरहेको उनको भनाइ छ । पछिल्लो समय प्रहरी उपरीक्षक शाहको निर्देशनमा रौतहटमा प्रहरीले सक्रियता बढाएका कारण अपराध भएको केही घण्टाभित्रै अपराधी पक्राउ गर्न सफल भइरहेको देखिएको छ ।