शिक्षा

स्वास्थ्य सुरक्षा अपनाउँदै आजदेखी यसरी सुरु भयो कक्षा १२ को परिक्षा

९ मंसिर, काठमाडौं । मुलुकमा कोरोना कहरकाबीच आजदेखी कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको परीक्षा आजदेखि सुरु भएको हो ।

परिक्षा बोर्डका अनुसार आज पहिलोदिन परीक्षामा देशभरिका ४ लाख ३२ हजार पाँच सय विद्यार्थी सहभागी भएका छन् । ४० नम्बरको पूर्णांकका लागि भएको परीक्षामा सहभागीहरुले स्वास्थ्य सुरक्षाको मापदण्डसमेत पूरा गरेका थिए । डेढ घण्टा मात्र भएको परीक्षा बिहान ८ बजे सुरु भएको थियो ।

थप ४० नम्बर कक्षा ११ र २० नम्बर कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट जोडिनेछ । यसपटक विद्यार्थीले आफू पढेकै विद्यालयमा परीक्षा दिन पाएका हुन् । गाउँघर गएका विद्यार्थीले भने पायक पर्ने स्थानमै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड पालना गरी परीक्षाको गरेको बोर्डले जनाएको छ । हेल्थ डेस्क राखेर सामाजिक दूरी कायम गरी, थर्मल गनले विद्यार्थीको ज्वरो जाँचेर मात्र परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्न दिइएको छ । 

प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले परीक्षामा सुरक्षाको प्रबन्ध मिलाएको छ भने परीक्षा सन्चालनमा स्थानीय तहले सहयोग गरेका छन् । परीक्षाको अनुगमन र निगरानी गर्न बोर्डमा कन्ट्रोल रुमको समेत व्यवस्था गरिएको छ । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।