समाचार

भण्डारीद्वारा दोश्रो कार्यकालको लागि उम्मेदवारीको घोषणा ,एकै बसाईमा २६ हजार डलर सङ्कलन

८ मङ्सिर, काठमाडौँ । विजय थापा,डिसी महानगर क्षेत्र । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट बिधान सभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारी दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने भएका छन् । महामारीको कारण परोक्ष रुपमा आयोजना भएको उम्मेदवारी घोषणाको साथै कोष वृद्धि कार्यक्रममा एकै बसाईमा २६ हजार डलर सङ्कलन भएको छ ।

बिधान सभा सदस्य भण्डारीले प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत आफू उम्मेदवारी दिने भएको जानकारी दिएका थिए ।

उक्त जुम कार्यक्रममा बिभिन्न बिशेष व्यक्तिहरुले उनलाई सहयोग गर्ने घोषणा गरि कूल २६ हजार डलर संकलन गरेको जानकारी आतिथ्य गरेका व्यवसायी ध्रुव वन्तले गराएका थिए । उपस्थित भएका दर्जनौ विभिन्न पेशामा संलग्न व्यक्तिहरुले मन्तब्य राखेका थिए ।

सबैले पुन एक पटक भण्डारीलाई जिताउनु पर्ने भन्दै के कस्तो सहयोग गर्न सकिन्छ भन्दै आर्थिक सहयोगको साथै पूर्ण सहयोग गर्ने बताएका थिए । सबैले नेपाली समुदायका जन प्रतिनिधि हुँदा नेपाली समुदायलाई उनले गरेको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै दोश्रो पटक जिताउन लाग्नु पर्ने सबैले प्रतिबद्धता जाहेर गरेका थिए ।

भण्डारीले आफूले नेपाली समुदायलाई पनि सक्दो सहयोग गरेको र आफूले गरेका काम बारेमा संक्षेपमा प्रकाश पर्दै पुन स्एक पटक सहयोग मागेका थिए । भण्डारी अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य बिधान सभा सदस्यको रुपमा खाता खोल्ने व्यक्ति हुन् ।

भण्डारी मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवत भण्डारी पहिला नेपाली मूलका हुन् ।

नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका आएका थिए । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा पनि उनी प्राध्यापन पेशामा नै संलग्न छन् ।