राजनीति

रत्नपार्कको नाम परिवर्तन गर्नाले मुमा बडामहारानी रत्नप्रति अन्याय भयोः राप्रपा अध्यक्षत्रय

८ मंसिर, काठमाडौं। राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर राण र डा प्रकाशचन्द्र लोहनीले पृथ्वी नारायण शाह, राजा महेन्द्र र वि.पि. कोइराला अग्रस्थानमा रहेको ठान्ने बताएका छन् । अध्यक्षत्रयले राजा महेन्द्रकी रानी रत्नको नाममा राखिएको रत्नपार्कको नाम परिवर्तन गरेर सरकारले गलत गरेको बताएका छन् । काठमाडौं महानगरले रत्नपार्कको नाम परिवर्तन गर्न लागेको भन्ने सुनेपछि उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष थापाले शुरुमा नै कडा प्रतिकृया जनाएका भएपनि अहिले तीनजना पार्टी अध्यक्षले संयुक्त रुपमा उक्त कार्यको तीन बुंदामा बिरोध जनाएका छन् ।
उनीहरुले बुंदागत रुपमा यसो भनेका छन्, ‘संखधर शाख्वा हाम्रो देशको मौलिक संस्कृति र सभ्यताको धरोहर व्यक्तित्व हुन् र राष्ट्रिय विभुति हुन् । यस्ता व्यक्तित्वहरु समस्त नेपालीका आदरणीय हुन् र राष्ट्रले उनिहरुको सम्मान गर्नु पर्दछ । यस क्रममा उनिहरुको नामबाट देशका विभिन्न संस्था, योजना, संरचना र उपलब्धीको नामाकरण हुनु स्वाभाविक भन्ने हामी ठान्दछौं । तर यस क्रममा दशकौंदेखि नामाकरण भएर आएका संरचनाको नाम आज अचानक बदल्नु उचित होइन ।’
अध्यक्षत्रयले उक्त नाम परिवर्तन गर्ने सरकारी निर्णयमा तर्क गरेका छन्, ‘हामी नेपाल राष्ट्र निर्माण, नेपालको राष्ट्रिय एकता र राष्ट्रियताको संरक्षणमा वडा महाराजा पृथ्वी नारायण शाह, राजा महेन्द्र र वि.पि. कोइराला अग्रस्थानमा रहेको ठान्दछौं । उनै राजा महेन्द्रको रानी मुमा वडामहारानीको नाममा झण्डै आधा शताब्दीदेखि नामाकरण गरिएको रत्न पार्कको नाम बदल्नु दुई कारणले अनुचित ठान्दछौं । पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ । दोश्रो, यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको छ ।’
राप्रपा अध्यक्षत्रयको माग छ, ‘संखधर शाख्वाको योगदानको सम्मान गर्न हाल भईरहेको संरचनाको नाम परिवर्तन गरेर होइन, संखधरको नाम राखेर नयाँ र भब्य संरचना बनाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । त्यसकारण हाल महानगरपालिकाले रत्नपार्कको नाम बदल्ने निर्णय अविवेकी र गलत छ । हाम्रो माग छः संखधरको नामबाट अझ भब्य साँस्कृतिक÷ऐतिहासिक संरचना बनाइयोस त्यस बखत मात्र उनिप्रति हामीले सहि रुपमा सम्मान गरेको ठहरिनेछ । यस परिप्रेक्षमा काठमाण्डौ महानगरपालिकाको वर्तमान अविवेकी निर्णय तुरुन्त फिर्ता गरियोस ।’