समाचार

बेवारिसे अवस्थाको १८ गोलिया खयरको काठ बरामद

कञ्चनपुर, ८ मङ्सिर । शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले आइतबार साँझ खयर प्रजातिको काठ बरामद गरेको हो ।

बरामद काठबारे छानबिन भइरहेको रेञ्जर रसाइलीले बताएका छन् । “कानूनअनुसार निकुञ्जको अनुमतिबिना खयर प्रजातिको काठ बेच्न पाइँदैन”, उनले भने, “काठ अनुमति बिना बिक्री वितरण गरेको पाइए बिगोअनुसार जरिवाना हुन्छ ।

” बरामद काठ निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नागेश्वर सामुदायिक वनको रहेको बताइएको छ । बरामद काठलाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएको छ ।