कृषि

आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापनाः किसान उत्साहित

७ मङ्सिर, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको छ ।

नगरपालिकाको चार लाख ९६ हजारको लागतमा वडा नं २ सोल्मास्थित प्राङ्गारिक मल तथा बायोग्यास उद्योगसँगै डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको हो ।

ल्याब स्थापना भएपछि महीना दिनसम्म लगाएर खोटाङबाट सुनसरीको झुम्का प्रयोगशालामा लगेर माटो परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ । सोल्मामा स्थापना गरिएको प्रयोगशालामार्फत ४८ घण्टामै परीक्षणको रिपोर्ट आउने जानकारी दिइएको छ ।

पशु क्षेत्रतर्फ कृत्रिम गर्भधारण, पशुपक्षीको स्वास्थ्य परीक्षणलगायतका काम ल्यालबाट नै प्रवाह हुने भएको नगरप्रमुख दीपनारायण रिजालले बताए । नगरपालिकाले शनिबार नै नगरभित्रका १५ ओटै वडा कार्यालयलाई चार लाख बराबरको माटो परीक्षण उपकरण हस्तान्तरण गरेको छ ।

पशु क्षेत्रतर्फ कृत्रिम गर्भधारण, पशुपक्षीको स्वास्थ्य परीक्षणलगायतका काम ल्याबबाट नै प्रवाह हुने भएको नगरप्रमुख दीपनारायण रिजालले बताए । नगरपालिकाले शनिबार नै नगरभित्रका १५ वटै वडा कार्यालयलाई चार लाख बराबरको माटो परीक्षण उपकरण हस्तान्तरण गरेको छ ।
यसैबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाइरस महामारीका कारण विदेशमा रोजगारी गुमाएर जन्मथलो फर्किएका युवालाई कृषि सामग्री उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको अवस्थामा कोरोना महामारी फैलिएपछि रोजगारी गुमाएर जन्मथलो फर्किएका १०० युवालाई कृषि पेशामा आबद्ध गराउने उद्देश्यका साथ कृषि सामग्री उपलब्ध गराएको हो ।

नगरपालिकाले व्यावसायिक कृषिखेती गर्दा आवश्यक पर्ने विषादीसहित थोपा सिँचाइ सेट, आइएम सामग्री, सिलपौलिन प्लाष्टिक टनेललगायत सामग्री उपलब्ध गराएको छ । नगरपालिकाको १५ वटै वडा कार्यालयबाट सिफारिस भएर आएका युवालाई हेल्भेटासको आर्थिक सहयोगमा कृषि सामग्रीका साथै तालीमसमेत दिएको कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताए ।

परम्परागत रूपमा गरिँदै आएको कृषि पेशालाई व्यावसायिक र आधुनिकीकरण गर्न नगरपालिकाको तर्फबाट कृषक तथा कृषक समूहलाई अनुदानसमेत दिने व्यवस्था गरिएको नगरप्रमुख रिजालले बताए । “वैदेशिक रोजगारीका लागि युवापुस्ता विदेशिनेक्रम बढेसँगै खेतीयोग्य जमिन बाँभिएका छन्”, उनले भने, “जनशक्ति अभावमा वर्षौँदेखि बाँझिएको जग्गामा व्यावसायिक खेती गर्ने युवालाई नगरपालिकाको तर्फबाट अनुदानसमेत दिने व्यवस्था गरिएको छ ।”

नगरपालिकाले कृषक तथा कृषक समूहलाई बाख्रापालनका लागि उन्नत जातको बोयर बोका, च्याउखेतीका लागि बीउ, फलफूल खेतीका लागि सुन्तला तथा कागतीको बेर्ना, गोलभेँडा खेतीका लागि प्लाष्टिक टनेललगायत उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले कृषि सामग्री उपलब्ध गराउनुका साथै तालीमसमेत दिन थालेपछि युवापुस्ता कृषि पेशाप्रति आकर्षित हुँदै गएका छन् ।

सालपा विकास बैङ्क सम्मानित

जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाताकारुपमा सालपा विकास बैङ्कलाई सम्मान गरिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा खोटाङबाट सबैभन्दा बढी कर दाखिला गरेकामा उक्त बैङ्कलाई आन्तरिक राजस्व कार्यालय लहानले कदर स्वरुप सम्मान गरेको हो ।

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास, सम्वृद्धि र सुशासन’ भन्ने नारासहित करदाता सेवा कार्यालय खोटाङले आयोजना गरेको ९औँ राष्ट्रिय कर दिवसको समापन अवसरमा करदाता सेवा कार्यालयद्वारा आयोजित कार्यक्रममा उक्त बैङ्कलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बैङ्कका विभागीय प्रमुख दिपकर राईलाई सम्मान–पत्रद्वारा गरेका थिए । विगतका वर्ष विभिन्न कार्यक्रम गर्दै कर सप्ताह मनाउने गरिएकामा यस वर्ष कोभिड–१९ को महामारीका कारण धुमधामका साथ कार्यक्रम गर्न नसकिएको करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत गोपाल राईले बताए।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले ‘करलाई रहर’ बनाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने, “सबैभन्दा बढी कर तिर्नेलाई भन्दा पनि आफ्नो आयव्याय विवरण नलुकाई पारदर्शी ढङ्गले कर तिर्ने करदातालाई प्रोत्साहन गर्न सक्नुपर्दछ ।”

उद्योग बाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राई, नेपाल अडिटर्स एसोसिएशनका जिल्ला अध्यक्ष डोरनाथ आचार्य, सालपा विकास बैङ्कका विभागीय प्रमुख राई लगायतले कर तिर्नु प्रत्येक नागरिकको दायित्व हो भने ।

दिक्तेलमा २०७५ साल चैत २८ गतेदेखि करदाता सेवा कार्यालयले आफ्नो सेवा शुरु गरेको हो । जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएपछि कर चुक्ताका लागि प्रदेश नं २ को लहान पुग्नुपर्ने बाध्यता हटेको छ । दिक्तेलस्थित पुरानो बैङ्कचोकमा रहेको कार्यालयले स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मूल्यअभिबृद्धि कर दर्ता, अन्तःशुल्क इजाजत तथा नवीकरण, कर सङ्कलन, करदाताको विवरण संशोधनलगायत सेवा प्रवाह गर्दै आएको छ ।