लुम्बिनी

‘जोतौँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने तयारी

७ मङ्सिर, झिमरुक / स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा भारत तथा तेस्रो मुलुकबाट फर्किएर आएका र स्थानीय क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी तथा व्यवसायमा जोड्नका लागि ‘जोतौँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । नगरपालिकाले चालु आवका लागि रु ५६ करोड ६० लाख ३३ हजार ४५९ बजेट विनियोजन गरेको छ ।
नगरपालिकाभित्र थोरै लगानीमा केही व्यवसाय सञ्चालन गरेका र आर्थिक समस्याले गर्दा व्यवसाय फस्टाउन नसकेका व्यक्तिलाई थप सहयोग गर्नका लागि कार्यक्रमले फाइदा पुग्ने नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए।
कोरोना सङ्क्रमणका कारण नगरक्षेत्रभित्र आएका व्यक्ति तेस्रो मुलुक तथा भारतमा सिकेको सीपलाई प्रयोग गर्न चाहेमा र नगरक्षेत्रका अन्य बेरोजगार व्यक्तिले पनि केही व्यवसाय गर्न चाहेमा यो कार्यक्रममा समेटिने उनले बताए । कोभिड लक्षित कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहमार्फत अन्य बजेटसमेत विनियोजन भएकाले सोे कार्यक्रममार्फत सबै बेरोजगारलाई रोजगारी बनाउने र व्यवसायी बनाउने लक्ष्य रहेको उनले बताए ।
कार्यक्रम सञ्चालन गर्नका लागि कार्यपालिकाबाट ‘स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७’ पारित गरिएको नगर प्रमुख क्षेत्रीले बताए । त्यसका लागि नेपाल बैंक लिमिटेड भिङ्ग्री शाखासँग सहकार्य गरिने छ । सम्झौताका लागि केन्द्रीय कार्यालयमा पत्र पठाइएको छ । उनले भने “अबको केही समयमा सम्झौता हुने छ ।” सम्झौतालगत्तै नगरपालिकाले वडामार्फत व्यवसाय गर्ने व्यक्ति तथा समूहको तथ्याङ्क सङ्कलन, व्यवसाय छनोट, संस्थागत र व्यक्तिगत व्यवसाय प्रकृतिका विषयमा तथ्याङ्क सङ्कलन गरिने उनले बताए ।
सो कार्यक्रममार्फत नगरपालिकाभित्र रहेका बाँझो खेतबारी कृषिमार्फत हराभरा हुनुपर्ने उनले बताए
। वडामार्फत बाँझो जग्गाको तथ्याङ्क सङ्कलन हुनेछ । बेरोजगारलाई आम्दानीको स्रोतसँगै आगामी दिनमा सफल व्यवसायी बनाउने योजनासहित सोे कार्यक्रम अघि बढाइने उनको भनाइ छ । नगरपालिकाले कार्यक्रमको कार्यविधिमा निम्न पिछडिएको, लगानी गर्न रकम नभएको र दलित वर्गलाई प्राथमिकता दिने उल्लेख गरेको छ ।
नगरपालिकाले रु ५० लाख धरौटी बैंकमा राख्ने र बैंकले नगरपालिकाको धरौटी रकमको दोब्बर लगानी गर्ने छ । यसमार्फत संस्थागत कृषि व्यवसाय गर्नेले न्यूनतम रु २० लाख र व्यक्तिगत व्यवसाय गर्नेले न्यूनतम रु १० लाख ऋण लिन सक्नेछन् । नगरपालिकाले कृषिमा बाँझोबारीलाई हराभरा बनाउन, बाँझो बारी जोती कृषिमा आमूल परिवर्तन गर्नका लागि कार्यक्रमले सहयोग पु¥याउने नगर प्रमुख रोका क्षेत्रीले बताए ।
नगरपालिकाले सो कार्यक्रमका लागि रु ६० लाख बजेट विनियोजन गरेकामा रु ५० लाख बैंकमा धरौटी राखिने छ भने रु १० लाख प्रोत्साहनका लागि खर्च गरिनेछ । कोरोना सङ्क्रमणका कारण नगरपालिकाभित्र हालसम्म भारतबाट एक हजार ९६८ र तेस्रो मुलुकबाट १५० जना व्यक्ति आएको तथ्याङ्क छ ।