लुम्बिनी

बालिका बलात्कार अभियोगमा दुई पक्राउ

६ मङ्सिर, परासी । बालिका बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । कात्तिक २७ गते रातिको समयमा बालिका धारामा पानी लिन बलात्कारमा परेको उनले बताए । पक्राउ परेका व्यक्तिले बालिकाको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगैँचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताए । किटानी जाहेरीका आधारमा दुई पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बलात्कार प्रयासका आरोपित पक्राउ

सप्तरी– सुतिरहेकी महिलाको कोठामा प्रवेश गरी बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले सप्तरीको खडक नगरपालिकाका २८ वर्षीय मनिषकुमार चौधरीलाई आज पक्राउ गरेको छ ।

ढोकाको माथिको थोरै खुला ठाउँबाट पीडित सुतेको कोठाभित्र प्रवेश गरेका आरोपितले निन्द्रामा रहेका बेला बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएका छन् । गत कात्तिक २९ गते राति घटना भएको भन्दै कात्तिक ३० गते पीडितले उजुरी दिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडभरीका अनुसार एक साताको आवश्यक अनुसन्धानपश्चात उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको छ । पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ ।