गण्डकी प्रदेश

चितवन जिल्लाको धेरै वनभोजस्थल खुल्ला

चितवन, ६ मङ्सिर । जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुल्ला गरिएको छ । गत चैतदेखि बन्द गरिएको स्थल आजबाट खुल्ला गर्न लागिएको हो ।

उपभोक्ता समितिको शुक्रबार सम्पन्न बैठकले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै कार्यक्रम आयोजना गर्न दिने निर्णय गरेको छ । समितिका अध्यक्ष राजन अधिकारीका अनुसार यो मौसममा गत वर्षहरुमा एकै दिन ९२ वटासम्म वनभोज कार्यक्रम हुने गरेका थिए ।

नारायणी नदी तटमा रहेको उक्त स्थानमा कार्यक्रम गर्नका लागि १२ वटा टहरा रहेका छन् । खानेपानी, विद्युत्, शौचालयलगायतका वनभोजलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहेको उहाँले जानकारी दिनुभयो । नदी, वन र वन्यजन्तुको मनोरम दृश्यसँगै रमाउँदै वनभोज गर्न यहाँ टाढाटाढाबाट मानिस आउने गर्दछन् ।

सामुदायिक वनमा खुल्ला चिडियाखानासमेत रहेको छ । जहाँ वन्यजन्तु नजिकबाट अवलोकन गर्न पाइन्छ । सोही ठाउँमा एउटा पार्क रहेको छ भने नजिकै शहीद स्मृति पार्क पनि निर्माण भइरहेको छ । सो वन क्षेत्रमा दुर्लभ बाघ, एकसिङ्गे गैँडा, चित्रि, मयूर, बँदेललगायत वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पाइन्छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु नारायणी किनार हुँदै यहाँ आउ जाउ गर्दछन् । उक्त ठाउँमा चितवनलगायत नवलपरासी, धादिङ, गोरखा र मकवानपुरबाट वनभोजका लागि मानिस आउने गरेको अधिकारीले जानकारी दिएका छन् ।