बाग्मती

आइतबारबाट अवलोकनका लागि खुल्दै तत्कालीन राजा वीरेन्द्रको निजी निवास

६ मंसिर, काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ ।

शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गर्ने र आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिले जनाएको छ ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्‍ने गरेका थिए । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द रहेको छ ।

२०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो ।

आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुने छ । २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारक उदघाटन गरे पनि अवलोकनका लागि खुल्ला भएको थिएन ।