पर्यटन/संस्कृति

गिरिजा प्रसाद फाउण्डेशन पर्यटन विभागका निर्देशकमा गुरुङ

५ मंसिर, काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशनको पर्यटन विभागका निर्देशकमा कुलबहादुर गुरुङ नियुक्त हुनुभएको छ । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित फाउण्डेशनको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पर्यटन व्यवसायी गुरुङलाई दुई वर्षका लागि निर्देशकमा नियुक्त गरेको हो । धादिङ रुबीभ्यालीका गुरुङ नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिवसमेत हुन् ।
नवनियुक्त निर्देशक गुरुङले फाउण्डेशनमा बसेर पर्यटन क्षेत्रको अनुसन्धान, प्रबद्र्धन तथा विकासमा उल्लेख्य भूमिका खेल्ने फाउण्डेशनले विश्वास लिएको छ । पछिल्लो समय फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रका विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको फाउण्डेशनका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले बताईन् । यस्तै सामाजिक क्षेत्रसमेतमा फाउण्डेशनले काम गर्दै आएको छ ।