पु.समाचार

मोरङमा कोरोना सङ्क्रमणबाट एकैदिन तीनको मृत्यु

५ मंसिर, काठमाडौं । मोरङको दुई शिक्षण अस्पतालमा कोरोना सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीयसहित तीन जना रहेका छन् । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र नोबेल शिक्षण अस्पताल विराटनगरमा एक जनाको मृत्यु भएको हो । विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए । मृतक वृद्धको गएको कात्तिक २७ गते पोजिटिभ आएको थियो ।
सोही अस्पतालमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुधबार भर्ना गरिएकामा बिहीबार पोजेटिभ रिपोर्ट आएको अस्पतालका प्रमुख देवले बताए । नोबेल शिक्षण अस्पताल विराटनगरमा झापाको गौरादह–८ का ६३ वर्षीय वृद्ध उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएकामा बिहीबार पोजेटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।