पु.समाचार

काठमाडौँ उपत्यकामा थपिए एक हजार १०७ जना काेराेना सङ्क्रमित

५ मङ्सिर, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा पछिल्लो समय १० हजार ३४० जनाको स्वास्थ्य परीक्षण गर्दा ७४० महिला र एक हजार २०५ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । पछिल्लो समय थप पाँच हजार ३६४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या पनि एक लाख ९९ हजार दुई पुगेको छ । निको हुने दर ८८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर २४ हजार ६६५ सक्रिय सङ्क्रमित छन् । यो कूल सङ्क्रमितको ११।४ प्रतिशत हो । देशभर ७५३ जना क्वारेन्टिनमा र १९ हजार १४ होम आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये ४०३ जनाको सघन उपचार कक्ष र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप २२ को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा एक हजार १०७ थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार १०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा ४८४ महिला र ६२३ पुरुष रहेका छन् । मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्ममा काठमाडौँमा एक हजार ६८१, ललितपुरमा दुई हजार २२८ र भक्तपुरमा ७८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्ममा काठमाडौँ उपत्यकाकै सबैभन्दा बढी काठमाडौँमा ३१६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशका १२ जिल्लामा ५०० भन्दाबढी सङ्क्रमित उपचाररत छन् भने एक मात्र जिल्ला मनाङ सङ्क्रमणमुक्त रहेको छ ।