बाग्मती

गोल्मा भीमसेन मन्दिरको निर्माण अन्तिम चरणमा

५ मङ्सिर, चौतारा / सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा निर्माण भइरहेको गोल्मा भीमसेन मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ ।  विसं १८१६ देखि स्थानीयवासीद्वारा पूजा गरिँदै आएको मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको हो । यसअघि खुलारुपमा पूजा हुँदै आएकामा स्थानीयवासीको आग्रह र प्राचीनतालाई दृष्टिगत गरी पुरातत्व विभागले मन्दिर निर्माणको जिम्मा लिएको छ । विभागले २०७४÷७५ र २०७५÷७६ दुई आर्थिक वर्षमा रु ५६ लाख बजेट विनियोजन गरी निर्माण भइरहेको छ । तामाको छाना भएको शिखर शैलीको उक्त मन्दिरको रङरोगन, तारबार तथा पर्खाल लगाउन बाँकी भएको मन्दिर निर्माण समितिका अध्यक्ष गौरीशङ्कर नेपालले बताए ।
मन्दिर परिसरमा बासुकी नाग र सेतीदेवीको समेत नित्य पुजा हुदै आइरहेको र निकट भविष्यमा दुबैको मन्दिर निर्माण गरिने कार्यक्रम रहेको वताइएको छ । नेपाल र तिब्बत बीचमा युद्ध शुरु हुने अन्तिम चरणमा पुगेपछि जनरल धीरशम्शेर राणाको नेतृत्वमा गएको सेनाले तातोपानीको दुगुनामा एक वर्ष लगाएर विसं १९१२ मा गढी किल्ला निर्माण गरेको इतिहासमा उल्लेख छ । तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणा गढी जाने क्रममा सोही मंन्दिरको चौरमा बास बसी युद्धमा विजय पाउन सफलताको कामना गरेका थिए । दुबै देश बीच वार्ता भई युद्ध टरेपछि फर्कने समयमा पनि सोही ठाउँमा बास बसी जग्गाको वन्दोबस्त गरी दैनिक पूजा गर्न स्थानीयलाई आदेश दिएको वृद्धाहरु बताउँछन् । उनैको पालामा वि।सं। १९१६ मा गुठीको रुपमा ३० रोपनी १३ आना जग्गा प्रदान गरेको कागज उपलब्ध भई गुठी संस्थानमा समेत दर्ता भएको अध्यक्ष नेपालले बताए । हाल दैनिक पूजा चलाउन मोहीबाट वार्षिक २४ मुरी धान उपलब्ध हुने गरेको छ । यसका अलावा स्थानीय ३३ घर परिवारले आलोपालो गरी दैनिक पूजा गर्दै आएका छन् । नित्य पूजामा सहयोग पुगोस भन्ने उद्देश्यले स्थानीय ७३ जनाको समूह गठन गरी प्रत्येकबाट रकम सङ्कलन गरी रु। तीन लाख ५० हजारको अक्षय कोष खडा गरिएको अध्यक्ष नेपालले स्पष्ट पारे ।