कर्णाली प्रदेश

संसदीय टोली शे–फोक्सुण्डो निकुञ्जमा

५ मङ्सिर, डोल्पा । प्रतिनिधिसभा,कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति सहितको संसदीय टोली यहाँ आएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण समितिका सदस्य भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रीको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेको हो ।

सो टोलीले निकुञ्ज क्षेत्रको स्थलगत अध्ययन गर्नुका साथै निकुञ्जको विषयमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।

टोलीले निकुञ्ज क्षेत्रका विभिन्न गाउँस्तीमा बसोबास गर्ने स्थानीयसँग निकुञ्ज संरक्षणका गतिविधिमा छलफल गर्ने निकुञ्जले जनाएको छ । निकुञ्जमा निमित्त संरक्षण अधिकृत सरोजमणी पौडेलले भने “निकुञ्जको मुख्य क्षेत्रमा मात्रै २४ गाँउबस्ती छन् । स्थानीयका आवश्यकता र विकास निर्माणका कुरा छन् । निकुञ्जको ऐन कानूनले निकुञ्ज क्षेत्रमा विकास गर्नुपूर्व राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिनुपर्ने प्रावधान राखेको छ ।”
निकुञ्ज, स्थानीय सरकार र नागरिकबीच विवाद नआउने किसिमले नयाँ ऐन कानून निर्माण गर्ने कि भएको कानूनलाई थप कडाइ गर्न सघाउने भन्ने विषयमा समेत संसदीय टोलीको विशेष चासो रहेको निकुञ्जको भनाइ छ ।

निकुञ्ज क्षेत्रभित्र पाइने बहुमूल्य जडीबुटीको उपभोग जिल्लाका नागारिकले मात्रै गर्न पाउने व्यवस्था गरेमा निकुञ्ज संरक्षणमा थप सजिलो हुने जनाइएको छ । यसबाट नागरिकको आयस्तरमा समेत वृद्धि हुने निकुञ्जको विश्वास छ । निकुञ्ज स्थापनाको आवश्यता र औचित्य सबैले बुझ्न जुरुरी रहेको प्रमुख पौडेलको भनाइ छ ।

समितिले निकुञ्ज क्षेत्रमा पर्ने छेप्का, रिग्मो र जिल्ला सदरमुकाम दुनैमा समेत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।