बाग्मती

चाडपर्वका समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढी

५ मङ्सिर, चितवन / जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ । तीमध्ये १० जना कात्तिक महिनामा मात्रै भएका हुन् । कात्तिकमा दशैँ र मङ्सिर १ गते तिहार परेको थियो । साउनमा आठ, भदौमा तीन र असोजमा नौ जनाको मृत्यु भएको छ ।
चार महिनाको अवधिमा दुर्घटनाबाट ८६ गम्भीर र ११२ जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा पुरूष २५, महिला दुई, बालक एक र बालिका दुई रहेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार पहिलो चौमासिकमा १२१ वटा दुर्घटना भएका थिए । तीमध्ये १८३ सवारी संलग्न छन् । गत आव २०७६÷७७ को पहिलो चौमासिकमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु भएको थियो ।
सवारी दुर्घटनाको मुख्य कारण तीव्रगति रहेको भट्टले बताए । उनका अनुसार चालकको लापरवाही, उछिन्दा ओभरटेक, यात्रुको गल्ती, खराब सडक र यान्त्रिक गड्बडीका कारण दुर्घटना हुने गरेका छन् ।
मतदानद्वारा वडा कार्यालयको टुङ्गो
इच्छाकामना गाउँपालिका–३ को वडा कार्यालय मतदान गरी टुङ्गो लगाइएको छ । विशेष गाउँसभाले बिहीबार वडा कार्यालयको टुङ्गो लगाएको हो । गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालका अनुसार वडा कार्यालय फिस्लिङ र चुम्लिङटार कहाँ राख्ने भन्ने विषयमा विवाद रहेको थियो । विशेष गाउँसभामा गरिएको मतदानमा चुम्लिङटारको पक्षमा १८ मत र फिस्लिङका पक्षमा १५ मत परेको थियो । यससँगै वडा कार्यालय चुम्लिङटारमा रहने भएको छ ।
लम्सालका अनुसार सभामा हाल ३५ सदस्य कायम छन् । गाउँपालिकामा सात वडा छन् । यसअघिका गाउँसभामा बहुमत सदस्य नपुगेपछि वडा कार्यालय तय हुनसकेको थिएन । गत साउनमा फिस्लिङमा अस्थायी कार्यालय राखेपछि चुम्लिङटारका बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका थिए । एक महिनाभित्र विशेष सभामार्फत टुङ्गो लगाउने सहमतिमा ताला खोलिएको थियो ।
सभाले स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन विधयेकसमेत पारित गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा रहेका सात स्थानीय तहमध्ये इच्छाकामना एक मात्रै गाउँपालिका हो ।