बाग्मती

छठ साझा पर्वका रूपमा विकास हुँदै गएको छः मुख्यमन्त्री पौडेल

वाग्मती, ५ मङ्सिर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठपर्व आम नेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताएका छन् । छठपर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

“नेपालीहरुको महान् चाड छठको पावन अवसरमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

“हिन्दूशास्त्रानुसार सूर्यलाई आदिदेव अर्थात् प्रथम देवताका रूपमा मानेर पुज्ने प्रचलन रहेको छ । संसारमा चलिआएका हरेक धर्म परम्पराहरुले सूर्यलाई जीव अस्तित्वको कारकका रूपमा स्वीकार गरेको पाइन्छ । ताप, राप, प्रकाश र ऊर्जाको पहिलो स्रोत सूर्यदेवको आराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठपर्व मधेशीको मात्र नभई आम नेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको छ ।

यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।