समाचार

देशभर चिसो बढ्दैः जुम्ला र जीरीपछि सबैभन्दा चिसो काठमाडौंमा

५ मंसिर, काठमाडौं । देशभर न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनतम तापक्रम घटेर जुम्लाको तापक्रम माइनस २ दशमलव ५ डिग्री सेल्सियस तथा जीरीको तापक्रम माइनस शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

जुम्ला र जीरीपछि सबैभन्दा चिसो काठमाडौंमा छ । काठमाडौंको शुक्रबार बिहानको तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । यसअघि बिहिबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ५ दशमलव ६ डिग्री थियो ।

यसैगरी ताप्लेजुङको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस, लुम्लेको ७ दशमलव ३ डिग्री सेल्सियस, ओखलढुंगामा ७ दशमलव ५ डिग्री सेल्सियस र विरेन्द्रनगरको बिहीबारको न्यूनतम तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

देशभरी नै न्यूनतम तापक्रम घटेसँगै बिहान हुस्सु र कुहिरो लाग्ने भएकाले गाडी चलाउँदा र यात्रा गर्दा ख्याल गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबार पहाडी क्षेत्रको मौसम आशिंक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । मौसम बदली भएपनि अहिले तत्काल पानी भने कतै पनि नपर्ने मौसमविद् कँडेलको भनाइ छ ।