अन्तर्राष्ट्रिय

अमेरिकाको सत्ता हस्तान्तरण समयमै हुने रिपब्लीकन नेताको दावी

५ मङ्सिर, एजेन्सी । अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्न आनाकानी गर्ने संकेत गरिरहेका बेला ट्रम्पकै पार्टीका नेताले सत्ता हस्तान्तरण समयमै हुने दाबी गरेका हुन् ।

रिपब्लीकन पार्टीका शिर्ष नेता तथा सिनेटर मिट्च म्याककोनलले कानुनी व्यवस्था र निर्धारित समयानुसार नै सत्ता हस्तान्तरण हुनेमा ढुक्क हुन आह्वान गरेका हुन् । राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई समयमै सहजै सत्ता हस्तान्तरण नगर्ने हो की भन्ने चिन्ता र चासो अमेरिकामा अत्यधिक देखिएको छ । कतिपयले समयमै सत्ता हस्तान्तरण हुनेमा आशंका र त्रास व्यक्त गरेका छन् ।

अमेरिकामा हालै भएको निर्वाचनबाट ७७ बर्र्षीय बाइडेन निर्वाचित हुनुभएको औपचारिक रुपमा घोषणा भइसकेको छ भने ७४ बर्षीय वर्तमान राष्ट्रपति ट्रम्पले बाइडेनको जित र आफ्नो हार अझै स्विकार्नु भएको छैन ।

ट्रम्पले कतिपय ठाउँमा मतदानका बेलामा धाँधली भएको दाबी गर्दै पुनः मतदान गर्न वा पुनः मतगणना गर्न माग गर्दै आएका छन् । उनले मागमा कुनै आधार तथा प्रमाणहरु नभएको भन्दै न्यायाधिशहरुले उनको मागलाई खारेज गरिदिएपनि ट्रम्पले आफ्नो माग छोडेका छैनन् ।

अमेरिकामा राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्नेमा नवनिर्वाचित वाइडेनले ३०० भन्दा बढी प्राप्त गर्नु भएको छ । अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन सत्ता हस्तान्तरण गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

अमेरिकी उपराष्ट्रपतिमा यस पटक कमला ह्यारिस निर्वाचित भएका छन् । उनि पहिलो महिला उपराष्ट्रपति समेत भएको बताइएको छ ।