लुम्बिनी

धुलिखेलमा पर्यटन प्रवद्र्धन गर्न पहल

३ मङ्सिर, काभ्रेपलाञ्चोक / कोभिड–१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले हालै विशेष प्याकेजको व्यवस्था गरेका छन् । होटल सङ्घ नेपाल हान काभ्रेपलाञ्चोकले कोरोना कहरको अवस्थामा पर्यटन प्रवद्र्धन गर्न तीन प्याकेजको घोषणासमेत गरेको छ ।
सङ्घले कोरोना सङ्क्रमणको अवस्थामै सरकारले तोकेको स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटनलाई पुरानै लयमा फर्काउन विशेष प्याकेज ल्याइएको जनाएको छ । “स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन छौँ, पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणलाई प्याकेजले राहत दिलाउने अपेक्षा गरेका छौँ”, सङ्घका काभ्रेपलाञ्चोक अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले भने । सङ्घले विशेषगरी धुलिखेल घुम्न आउने दम्पतीलाई लक्षित गर्दै सस्तो प्याकेजसमेत ल्याएको उनले बताए ।
सङ्घले दम्पतीलाई लक्षित गर्दै रिसोर्ट एण्ड फुल सर्भिस होटल र बजेट एण्ड भ्यालु होटल गरी दुईखाले होटललाई लक्षित गर्दै प्याकेज घोषणा गरेको जनाएको छ । सङ्घका अनुसार पहिलो प्याकेज धुलिखेल फर ‘कल्चर एण्ड नेचर’ मा एक रात दुई दिन, दोस्रो प्याकेज ‘फिलिङ सुरपरम्यान’ मा दुई रात तीन दिन र तेस्रो ‘तीनधारे झरना’मा दुई रात तीन दिनको प्याकेज तयार गरिएको छ । उनले ‘कल्चर एण्ड नेचर’ मा पर्यटकलाई आउनेबित्तिकै चिया र सामान्य चियाले स्वागत गरिनेछ भने सोही साँझ धुलिखेलको लखनडबलीमा विशेष लाखेनाच देखाइने छ ।
प्याकेजको दोस्रो दिन बिहान चिया वा कफीपछि हाइकिङ गर्दै हजार सिँढी हुँदै धुलिखेलको देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्तिवनस्थित बुद्ध मूर्तिको अवलोकन गराइनेछ । यसपछि होटलमा फर्की ब्रेकफास्ट गराइने छ । दिउँसोको खानापछि होटल छाड्नुपर्नेछ ।
दोस्रो प्याकेजमा ‘फिलिङ सुरपरम्यान’ अर्थात् पर्यटकलाई आउनेबित्तिकै चिया र सामान्य खाजाले स्वागत गरिनेछ भने साँझ ‘क्याम्प फायर’सहित खानाको व्यवस्था गरिनेछ । भोलिपल्ट बिहान चिया वा कफीपछि हाइकिङ गर्दै हजार सिँढी हुँदै धुलिखेलको देवीस्थानमा रहेको कालीदेवी मन्दिर तथा शान्ति वनमा रहेको बुद्ध मूर्तिको अवलोकन गराइनेछ । यसपश्चात होटलमा ब्रेकफास्टपछि साहसिक जिपलाइन खेलका लागि लगिनेछ । साँझ धुलिखेलको पुरानो बजारमा हुने लाखेनाचका साथै नेवारी सांस्कृतिक धुनको मनोरञ्जन दिलाइनेछ ।
तेस्रो प्याकेजमा हालैमा प्रचारमा आएको रोशी गाउँपालिकास्थित ‘तीनधारे झरना’ प्याकेजअन्तर्गत पर्यटकलाई चिया र सामान्य खाजाले स्वागत गरिनेछ । साँझ धुलिखेलको लखनडबलीमा लाखेनाच देखाइने र भोलिपल्ट बिहानको ब्रेकफास्टपछि तीनधारे झरनाको यात्रातर्फ लगिनेछ । तीनधारे झरनास्थलमै लन्च प्याक व्यवस्था गरिएकाले पर्यटकले एक प्रकारको मिनी पिकनिकको आनन्द लिन सक्नेछन् । झरनाको अवलोकन गरेर फर्केपछि उक्त रात होटलमा बास बस्ने र भोलिपल्ट बिहान ब्रेकफास्टपछि होटल छोड्नुपर्ने योजना बनाइएको छ ।
सङ्घ अध्यक्ष श्रेष्ठले प्याकेज घोषणापश्चात धुलिखेलमा पर्यटकको चहलपहल दिनप्रतिदिन बढ्दै गएको बताए । “पहिलेकै अवस्थासम्म ल्याउन नसके पनि पर्यटन व्यवसाय बचाइराख्न पनि सङ्घले कदम चालेको हो”, उनले भने । उनका अनुसार सङ्घले कल्चर एण्ड नेचर प्याकेजमा रु चार हजार ५०० देखि १० हजार, फिलिङ सुपरम्यान प्याकेजमा रु १० हजार ५०० देखि रु २० हजार र तीनधारे झरना प्याकेजमा रु १२ हजारदेखि रु २२ हजारसम्मको प्याकेज घोषणा गरिसकेको छ । साना–ठूला गरी धुलिखेलमा मात्रै करिब १०० होटल छन् ।