बाग्मती

स्थानीय बासिन्दाले बनाए चौतारी

३० कात्तिक, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ ठूलीपोखरीका स्थानीय बासिन्दाको सक्रियतामा चौतारी निर्माण भएको छ । स्थानीय युवाको सक्रियतामा ठूलीपोखरी संरक्षण उपभोक्ता समिति गठन गरी चौतारी निर्माण गरिएको हो ।
चौतारी उद्घाटन कार्यक्रममा नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले युवाहरूको सक्रियताबाट पोखरी, चौतारी संरक्षणलगायतका काम भएको भन्दै खुशी व्यक्त गरे । नगरपालिकाले सबै वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाइरहेको बताउँदै उनले स्थानीय युवाको कामले त्यसलाई अघि बढाउन थप मद्दत पुगेको उल्लेख गरे । सो क्रममा उनले नगरको समग्र विकासमा युवापङ्क्तिसँग सहकार्य गरेर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नमोबुद्ध–२ का वडाध्यक्ष सञ्जीव ढकालले चौतारी, पोखरीलगायत पुरातात्विक र धार्मिक महत्वका स्थानको संरक्षणमा वडाले आवश्यक सहयोग गर्ने बताए । युवाहरुको सक्रियताले निर्माण भएको चौतारोले वडालाई थप सहयोग पुगेको उनको भनाइ छ ।
ठूलीपोखरी संरक्षण उपभोक्ता समितिका अध्यक्ष सञ्जोग गौतमले आठ दिनको अवधिमा सकिएको चौतारी निर्माणकार्यमा स्थानीय युवाको सक्रियता महत्वपूर्ण रहेको बताए । विकास निर्माणको जिम्मा युवापङ्क्तिलाई लगाउँदा समयमा नै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण बनेको उल्लेख गर्दै उनले समयसँगै पारदर्शी हुनेसमेत बताए । समितिका संरक्षक उद्धवप्रसाद न्यौपानेले युवाहरूले गरेको काममा वडा तथा नगरले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । करिब रु तीन लाखको लागतमा सो चौतारो निर्माण गरिएको हो ।