उर्जा

लक्ष्मीपूजाका समयमा ऊर्जामन्त्री भारप्रेषण केन्द्रमा

२९ कात्तिक, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्र (एलडिसी) पुगेर देशभरको विद्युत माग र आपूर्ति अवस्थाको बारेमा जानकारी लिएका छन् ।
आज साँझ देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुगेका हुन् । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मीपूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुन्छ । उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मीपूजाको समयमा विद्युत माग अत्याधिक हुन्छ ।
विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन कायम रहोस् भनेर आफैं एलडिसीमा उपस्थित भएको मन्त्री पुनले बताए। “ तिहारको समयमा बत्ती नजाओस् र सबैले उज्यालोमा लक्ष्मीपूजा गर्ने अवस्था होस् भन्नका लागि माग र आपूर्तिको अवस्थाको प्रत्यक्ष जानकारी लिन र आवश्यक निर्देशनका लागि म त्यहाँ पुगेको हुँ”, मन्त्री पुनले भने ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भएकाले ढुक्कले उज्यालोमा तिहार मनाउन आम देशवासीलाई अपिल गरे । सञ्चालक समितिको निर्णयानुसार प्राधिकरणका देशैभरका उत्पादन, वितरण र प्रसारण केन्द्रका प्रमुखलाई तिहारका अवधिमा कार्यालय नछाड्न परिपत्र गरिएको छ । भारप्रेषण केन्द्रले देशभरको विद्युत आपूति, माग र वितरणको व्यवस्थापनको काम गर्छ ।
अत्याधुनिक प्रविधिजडित सो केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत गृहबाट कति विद्युत उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ति छ भन्नेबारे प्रत्यक्ष तथ्याङ्कीय अवलोकन गर्न सकिन्छ ।
प्राधिकरणका अनुसार आज साँझको समयमा अधिकतम विद्युत माग एक हजार २०० मेगावाट थियो । प्राधिकरणको वितरण प्रणालीमा हाल एक हजार ३०० मेगावाट विद्युत उपलब्ध छ ।
मागभन्दा बढी विद्युत भएकाले कतै पनि विद्युत अवरुद्ध हुने अवस्था नरहेको प्राधिकरणले जनाएको छ । मन्त्री पुनलाई भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले देशभरको विद्युत उत्पादन र वितरणको अवस्थाबारे अवगत गराएका थिए ।