लुम्बिनी

रुद्रावती एफएमको भवन शिलान्यास

२९ कात्तिक , तम्घास । गुल्मीको रुद्रावती एफएम ९८।२ मेगाहर्जको भवन शिलान्यास गरिएको छ । शुक्रबार छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले रेडियो भवनको शिलन्यास गरे । हाल छत्रकोट गाउँपालिका–४ श्रृङ्गाबाट प्रशारण हुँदै आएको रेडियोको भवन छत्रकोट गाउँपालिका–२ पल्लिकोटको कोटडाँडामा बनाउन थालिएको छ ।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले गाउँगाउँमा रेडियोको भूमिका महत्वपूर्ण भएकाले पल्लिकोटमै भवन बनाई रेडियो सञ्चालन गर्न लाग्नु सुखद विषय भएको बताए । त्यसका साथै उनले रेडियोलाई स्वच्छ र निष्पक्ष भएर समाचार तथा सूचनाहरु प्रसारण गर्न पनि आग्रह गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले अहिलेसम्म रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि रेडियोको प्रगतिको कामना गरे ।
१०८ पीपलका बिरुवा लगाइने
रुद्रावती एफएम प्रालिद्वारा सञ्चालित रुद्रावती एफएम ९८।२ मेगाहर्ज २०७४ साल फागुन ७ गतेबाट सञ्चालनमा आएको हो । हाल रेडियोले विभिन्न समयमा समाचार, विभिन्न सूचना, जनचेतनामूलक सन्देश, विद्यार्थीका लागि रेडियो कार्यक्रमलगायत कार्यक्रम प्रसारण गर्दै आएको छ । भवन पल्लिकोटको स्थानीय सामुदायिक वन नजीकै निर्माण शुरु गरिएको छ । त्यसले गर्दा उक्त वनमा कूल १०८ वटा पीपलका बिरुवा लगाउने अभियान रहेको प्रालिका अध्यक्ष युगराज बस्यालले बताए ।
बिरुवा लगाउने अभियानको पनि शुक्रबार नै गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले शुरुआत गरे । उक्त अभियान एक वर्षभित्रमा पूरा गरी उक्त डाँडालाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना पनि रहेको बस्यालले बताउनुभयो । साथै इच्छुक जो कोहीले पनि उक्त ठाउँमा पीपलका बिरुवा लगाउन सक्ने उनले बताए ।