उर्जा

विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउनेमा जोड

२६ कात्तिक, लमजुङ । बेँसीशहर नगर कार्यपालिकाको आज बसेको बैठकले विद्युत् वितरण प्रणालीलाई व्यवस्थित, नियमित, गुणस्तरीय र प्रभावकारी बनाउनका लागि नेपाल विद्युत् प्राधिकरणमार्फत वितरण गर्ने निर्णय गरेको छ ।
यसअघि नगरभित्र लमजुङ विद्युत् उपभोक्ता संस्थामार्फत विद्युत् वितरण हुँदै आएको थियो । बैठकले प्राधिकरणमार्फत विद्युत् वितरण र व्यवस्थापन गर्ने व्यवस्था मिलाउन सरोकारवाला निकायमा अनुरोध, सिफारिस र ध्यानाकर्षणसमेत गराएको छ ।
नगरपालिका क्षेत्रमा विद्युत् संरचनाको पूर्वाधार सुदृढीकरण हुन नसकेको तथा व्यवस्थापकीय क्षमतासमेत कमजोर रहेका कारण विगतदेखि नै विद्युत् आपूर्ती नियमित र भरपर्दो हुन नसकेर अत्यधिक जनगुनासो बढेकाले यस्तो निर्णय गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।
विसं।२०५३ मा लमजुङ विद्युत् उपभोक्ता संस्था स्थापना भई २०५४ सालबाट विद्युत् सेवा प्रवाह गर्दै आएको यस संस्थाबाट लमजुङको सबै स्थान र तनहुँको केही भागमा विद्युत् वितरण हुँदै आएको छ । यस संस्थाबाट दुवै जिल्लामा गरी करिब २८ हजार सेवाग्राहीलाई विद्युत् उपलब्ध गराएको छ ।
यो संस्थाले गरेको सेवा प्रवाहलगायत विविध कार्य राम्रो हुन नसकेपछि सो कार्य विद्युत् प्राविधिकरणलाई जिम्मा लगाउने औपचारीक निर्णय नगरपालिकाले गरेसँगै विद्युत्मा आएको विभिन्न समस्याको समाधान हुने भन्दै जिल्लावासी उत्साहित भएका छन् । दैनिक करिब ३०÷३५ पटक विजुली आउने जाने लगायत विभिन्न समस्या सेवाग्राहीहरुले झेल्दै आएका छन् ।
बैठकले नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका–२०७७ तथा उद्यम व्यवसायहरुको विकास र प्रवद्र्धन गर्न सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि व्याज अनुदान सम्बन्धी कार्यक्रम स्वीकृत गरी सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै, चालू आर्थिक वर्षका लागि नगरपालिका र स्थानीय दलित समुदायको क्रमशः ७०÷३० प्रतिशत लागत साझेदारीमा दलित समुदायमा सामुदायिक भवनलाई रु २८ लाख, नगरपालिका र स्थानीय समुदायको ५०÷५० प्रतिशत लागत साझेदारीमा १० वटा सामुदायिक भवनलाई रु ३८ लाखको योजना छनोट गरेको छ ।
दश कृषकलाई उत्कृष्ट मेयर कृषक पुरस्कार
बेँसीशहर नगरपालिकाले नगरभित्रका १० जना कृषकलाई उत्कृष्ट मेयर कृषक पुरस्कारद्वारा पुरस्कृत गरेको छ । नगरपालिकाले मङगलबार एक कार्यक्रमको आयोजना गरी १० जना कृषकलाई उत्कृष्ट मेयर कृषक पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।
नगर प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत पुष्पराज पौडेलले प्रति किसान रु १०÷१० हजार नगद, प्रमाणपत्र र खादा लगाएर उनीहरुलाई पुरस्कृत गरेका हुन् । नगर क्षेत्रभित्र व्यवसायिक रुपमा कृषि पेशामा लागेका कृषकहरुबाट छनौट गरी १० जना कृषकलाई पुरस्कृत गरिएको नगरप्रमुख अर्यालले बताए ।
यसरी पुरस्कृत हुनेमा व्यवसायिक तरकारी खेतीतर्फ नगरपालिकाका वडा नं ११ का सीताराम विक, वडा नं १० का युवराज गुरुङ, वडा नं २ का चिजामायाँ विक र सोही वडाका ज्ञानेन्द्र मगर रहेका छन् । त्यस्तै पुरस्कृत हुनेमा व्यवसायिक मौरीपालनतर्फ वडा नं ४ का पवन गुरुङ, व्यवसायिक बाख्रापालनतर्फ वडा नं २ का अनन्त राना र वडा नं १० का कन्या प्रसाद गुरुङ, व्यवसायिक भैसीपालनतर्फ वडा नं १० का कृष्णबहादुर थापा, वडा नं १ का सावित्रा सेढाइ मिश्र र वडा नं ११ का अमरजंग गुरुङ रहेको नगरपालिकाले जनाएको छ ।
गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत उत्कृष्ट १० जना कृषकलाई पुरस्कृत गर्ने भनिएपनि कोभिड–१९ का कारण उनीहरुलाई अहिले पुरस्कृत गरिएको हो । नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमितामा राखेर काम गर्दै आएको नगर प्रमुख अर्यालले बताए। कृषि क्षेत्रलाई व्यवसायीकरण, यन्त्रिकीकरण र बजारीकरण गर्नुपर्छ भन्ने मान्यताका साथ कृषकलाई प्रोत्साहन गर्न पुरस्कृत गरिएको उनको भनाइ छ ।