अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पर्यवेक्षकले भने अमेरिकी चुनावमा धाँधली भएको छैन

२५ कात्तिक, वासिङटन । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स ओएएसका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् ।
यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए । उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका थिए । कोभिड–१९ का कारण अन्य राज्यमा भने अनुगमन गर्न नसकिएको ओएसले जनाएको छ ।
ओएएसका अनुसार चुनावको दिन शान्तिपूर्ण थियो भने हुलाकबाट प्राप्त मतपत्रहरु निकै सुरक्षित र व्यवस्थित थियो ।
पर्यवेक्षणका क्रममा चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरे पनि चुनावमा सहभागी पक्षले अदालतमा उजूरी दिन सक्ने पनि ओएएसले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै विभिन्न राज्यका अदालतमा मुद्दा दायर गर्नुका साथै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई समेत दिनु भएको छैन ।