विचार/ब्लग

नेकपाको बिबादले नेपालमा कम्युनिष्टको औचित्य समाप्त भएको पुष्टी

बाबुराम आचार्य / नेकपा बिबाद चुलीमा पुगेको छ । अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेब गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार अर्का नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए ।
नेकपाका कुनैपनि बैठक राख्दिन, कुनै बैठक आफ्नो सहमतीमा राखेर गरेका कुनैपनि निर्णय मान्दिन, प्रधानमन्त्रीबाट कुनैपनि हालतमा राजीनामा दिन्न भनेर शुक्रबार नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक गरी आज बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक राख्न दबाब दिन गएका अध्यक्ष दहालसहितका नेताहरु र प्रधानमन्त्री ओलीबीच भनाभन पर्यो ।
प्रधानमन्त्री ओलीलाई पाँच जना सचिवालय सदस्यले जालीझेली भन्दै लगाएको आरोपलाई प्रधानमन्त्रीले उल्टै गाली गरेका छन् । सचिवालय बैठक आईतबार वा सोमबारलाई तोक्न अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अध्यक्ष दहानलसहितका नेताहरुले दबाब दिएपनि आफूले सल्लाह गरेरमात्र बैठकको मिति तोक्ने उत्तर दिएका थए । बाहिरिएका भन्दा बढी नै झडप भएको अनुमानसमेत राजनीतिकबृतमा लगाईएको छ ।
शनिबारको नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य पाँचजना नेताबिचको बैठकले कुनै नयाँ निर्णय भने गरेन । उनीहरुबीचको तिक्तता कायमै रहेको र प्रधानमन्त्री ओलीले बैठक बोलाउन नमानेको नेकपाका प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले स्पष्ट गरेका छन् ।
गत स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा देशभर धेरै स्थान जित्न सफल भएको नेकपाको बिबादले नेकपा नेता कार्यकर्ताकोबीचमा नै नेतृत्वको आलोचना गरेको सामाजिक सञ्जालमा देख्न थालिएको छ । पुर्ब एमाले र पुर्ब माओबादीले त एकअर्काबीचमा खरो रुपमा आलोचना गर्न थालिसकेका छन् ।
सरकार सञ्चालनताका देशमा रेल र पानीजहाजको सपना नेपाली जनतामाझ बाँढेका प्रधानमन्त्री ओलीले नेकपाका नेताहरुलाई मिलाउन नसकेर घेराबन्दीमा परेका छन् । रेल र पानीजहाजको सपना देखाएका प्रधानमन्त्रीलाई काण्डै काण्डको सरकारको आरोप लगाएको नेपाली काँग्रेसले प्रभावकारी रुपमा बिरोध गर्न नसकेपनि आफ्नै पार्टीका नेताहरुले प्रधानमन्त्री पद नै धरापमा पार्न आँटेको सर्बसाधारणले समेत बुझेका छन् ।
अध्यक्ष ओलीले शनिबारको बैठकमा आफूले सचिवालय वा कुनैपनि बैठक बोलाउँदिन नभनेको बरु बैठक बोलाउँदा साथीहरुसँग सल्लाह गर्नुपर्ने बताउनु पार्टीसंक उनी डराएका हुन् कि भन्ने देखिन्छ भने अर्कोतिर प्रचण्डलाई केहीदिनअघि आफूले तपाईले जस्तो कदम चाल्नुहुन्छ त्यो भन्दा ठूलो कदम म चाल्छु भन्ने अभिब्यक्ती दिएकाले अन्य कुनै ग्राण्ड डिजायन गर्दैनन् भन्नेमा ढुक्क हुन नसकिने राजनीतिकबृतमा छलफल भईरहेको कुरा हो ।
प्रमु्ख प्रतिपक्षी दल नेपाली काँग्रेस आउँदै गरेको १४ औं महाधिवेशनको कार्यमा ब्यस्त भएका कारण सरकारको प्रभावकारी बिरोध गर्न नसकिरहेका बेला सरकार मज्जाले चलाउने मौका पाएको नेकपाले आफ्नो सुवर्ण अवशरलाई आन्तरिक बिबादमा दैनिक रुपमा झगडा गरिरहनाले डस्विनमा फालेको हो भन्ने पुष्टी हुनमात्र बाँकी छ । पाँच बर्ष सरकार चलाउन स्पष्ट म्याण्डेट पाएका प्रधानमन्त्रीले आफ्नै पार्टीका कारण अप्ठ्यारो अवस्था झेलिरहेका छन् ।
नेपालमा सत्तामा पुगेपछि मातेर कसैलाई नचिन्ने मानवीय परम्परा नेपाली राजनीतिमा अझ बढी हावी देखिने पुरानै परम्परा हो । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पक्षकी पुर्ब नेतृ बिद्या भण्डारी राष्ट्रपति, अनि पार्टी र साँसदमा स्पष्ट बहुमत भएका कारण कसैलाई पनि टेर्ने अवस्थामा देखिएका छैनन् । उनले काँग्रेसलाई त टेरेनन्, टेरेनन्, आपूलाई नेकपा माओबादी केन्द्रलाई एक बनाएर प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेल्ने पुर्व प्रधानमन्त्री एबम् नेकपाका अध्यक्ष पुष्पकमल दहाललाई पनि टेरपुच्छर लगाउनै छाडे ।
प्रधानमन्त्री ओली कसको सल्लाहमा चल्छन्, अध्यक्ष दहाल कसको सल्लाहमा चल्छन् वा दुबै बिना सल्लाह नै आफ्नै निर्णयमा चल्छन् त्यो उनीहरुलाई नै थाहा भएपनि उनीहरुले देखाएको ताण्डव नृत्यले तीन करोड नेपाली जनताको मन दुखाएको छ, गत स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा मतदान गर्ने जनताको मन दुखाएको छ । उनीहरुका छताछुल्ल बिबाद र पदका लागि मरिहत्ते गर्ने साधारण जनताले समेत बुझ्ने भाषाको झगडाले राजनीतिलाई नै घृणित बनाएको देखिन्छ ।
राजनीतिलाई स्वच्छ भन्न खोजेको होईन, राजनीति आफैंमा घेणित र जालझेलको खेल हो तर देश, जनता र सिद्धान्तका लागि चालिनुपर्ने उक्त कदम आफू पदमा पुग्न र प्रधानमन्त्रीको नयाँ फोटो सिंहदरबारमा टाँस्नका लागिमात्र गरिएका झगडाले एउटा राजनीतिको सीमाना नै काटेको देखिन्छ । सर्बहाराको नेतृत्व गर्ने भनिएको कम्युनिष्ट सरकार मन्त्री, सचिव उच्च ब्यक्तीत्वहरुलाई कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्दैछ भने गरिव, किसान र पछाडी परेका नागरिकलाई महँगो शुल्क लिएर उपचार गर्दैछ ।
बिश्वब्यापी कोरोना माहामारीलाई नियन्त्रण गर्ने, बेरोजगारी समस्या समाधान गर्ने, कुनाकुनामा बाटोघाटो निर्माण गर्ने, गरिव जनतामा शिक्षा र स्वास्थ्यको पहुँच पुर्याउने, बैदेशीक रोजगारमा गएकालाई फर्काउने र विदेश जान लागेकालाई रोक्ने कार्य गर्नेलगायतका हरेक मान्छेले मान्छे भएर बँच्छ पाउने वातावरण निर्माण गर्ने बिषयमा नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि कुनैपनि छलफल न पार्टीमा छलफल भयो होला न त सरकारभित्र नै ? मात्र पद बाँडफाड, सत्ता लम्ब्याउने प्रयास, आफ्नो मान्छेलाई राजदूत बनाउने, मन्त्री बनाउने, भ्रष्टाचार गरी अकूत सम्पती कसरी कमाउने लगायतका कार्यमा नेकपा सरकार ब्यस्त भएका दृष्टान्त सरकारका कदमहरुलाई देख्दा राम्ररी जान्न सकिन्छ ।
स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेससंग सहकार्य गरेर निर्बाचन लडेको माओबादी केन्द्र पछि तत्काली एमालेसँग सहकार्य गरेर पार्टी नै एकीकरण गर्ने सहमतीसहित निर्बाचनमा लडेको थियो । उक्त सहमतीअनुसार पार्टी एकीकरणसम्म आईपुग्दा खासै आन्तरिक बिबाद नझेलेको नेकपाले अढाई अढाई बर्ष अध्यक्ष ओली र दहाल प्रधानमन्त्री बन्ने भन्ने सहमती प्रधानमन्त्री ओलीले नमानेपछि शुरु भएको बिबाद अहिले आएर झेली र धोकेबाद जस्ता मुख छोडाछोडका शब्दसम्म आईपुगेको छ ।
अन्यक्ष दहाललाई भक्तपुरका एकजना पुर्व मोओबादीको नाममा माओबादी पार्टी दर्ता गराएको र अन्यक्ष ओलीलाई उनकै झापाका एक कार्यकर्ताको अध्यक्षतामा नेकपा एमाले पार्टी दर्ता गर्न लगाएको आरोप यसभन्दा अगाडीकै बिबादमा लगाईएको भएपनि उक्त पार्टीका संरक्षक उनीहरु भएको चर्चा पछिल्लो समय भने चल्न छाडेको छ तर अध्यक्ष दहाल पक्ष बैठक डाक्नैपर्ने भन्ने र अध्यक्ष ओली बैठक नडाक्ने भन्ने र बैठक डाके कहिले सार्ने, कहिले, बैठककै बिचबाट हिँड्ने त कहिले बिरामीको नाटक गरेर डाकिएको बैठकमा उपस्थिति नै नहुनेबाट नेकपा बिबाद त्यति सजिलै टुंगिएला भन्नेमा भने सामान्य मान्छेले पनि बिस्वास गर्ने अवस्था देखिन्न ।
बिबाद त्यति सजिलै नटुंगिने निश्चित देखिएपनि के हुन्छ ? ओलीले के कदम चाल्छन् ? अध्यक्ष दहालले कस्तो कदम चाल्छन् भन्ने याकीन भन्न सकिने अवस्था छैन । प्रधानमन्त्रीको भनाईलाई बिश्वास गर्ने हो भने उनले अध्यक्ष दहाललाई राजनीतिक रुपमा सिध्याउने रणनीतिमा रालेका छन् । एमालेका संगठीत कार्यकर्तालाई कमाण्ड गर्ने मनशाय राखेर पार्टी एकता गरेका अध्यक्ष दहाललाई त्यति सजिलै नेकपाको अध्यक्ष बन्न दिने मनशायमा अध्यक्ष ओलीमात्र नभएर, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पनि छैनन् तर पछिल्लो समय राजनीतिलाई घेणित बनाउने कार्यका कमाण्डर भने प्रधानमन्त्रीसमेत रहेका नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओली नै हुन् । अर्कोतर्फ राजनीतिक स्थीरताका ठूला नारा लगाउने बिश्लेशकहरुको भनाई र देशको अहिलेको अवस्थालाई हेर्दा नेकपाकै अध्यक्षसमेत रहेका केपी शर्मा ओली सरकारलाई अप्ठ्यारो पारेर काम गर्न नदिने अनि प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य बनाउन खोज्ने अध्यक्ष दहाल, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल देश, जनता र स्थायीत्वका बिरोधीमात्र नभएर आफ्नै पार्टीको सरकार ढाल्न खोज्ले आत्माघाती पनि हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दहालसहितका नेताहरुले प्रधानमन्त्रीभन्दा देश, जनता र लोकतन्त्रको माया गर्नुपर्नेमा कसैले पनि गरेनन्, दुईतिहाई मतको औचित्य समाप्त गरे । मन्त्री, प्रधानमन्त्री पदमा समाजबादलाई साटे, जनताको मतको अपमान गरे । अझ स्पष्ट भन्नुपर्दा नेपालमा कम्युनिष्टको औचित्य समाप्त भएको हो कि भन्ने बहसलाई पुष्टी गर्ने काम गरे ।