आर्थिक

१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै

राँझा, १२ कात्तिक । बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । गाउँपालिका केन्द्र रहेको वडा नं ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा  १० करोड २२ लाख १६ हजारको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भईरहेको छ ।

चार तल्ले भवनमा चार सय जना क्षमता भएको बहुउद्देश्यीय सभाहल, सानो सभाकक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, ठूला तथा साना सवारीका लागि पार्किङ्ग, खेल मैदान, सेवाग्राहीका लागि प्रतिक्षालय र लिफ्टसहितको भवन निर्माण भईरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताएका छन् ।

उनका अनुसार, भवन निमार्णको ठेक्का सम्झौता भएको तीन महिनाको अवधिमा २५ प्रतिशत निर्माण कार्य पूरा भएको छ । कोरोना महामारी सङ्क्रमण र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निर्माण सामग्री अभावका बेला पनि निर्माण कार्य चलिरहेको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आफ्नै अत्याधुनिक भवनबाट कार्यालयको कामकाज तथा सेवा प्रवाहमा निकै सहयोग तथा गुणस्तरीयता बढने विश्वास व्यक्त गरेका छन् । भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनी रोयल कन्सट्रक्सनका प्रोजेक्ट इन्जिनियर दिनेशबहादुर शाहीले अहिलेको प्रगति अनुसार सम्झौताको छ महीना अगावै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न सकिने जानकारी दिएका छन् ।

दुई वर्षभित्र भवन बनाउने गरी रोयल कन्सट्रक्सन कैलालीले भवन निमार्णको ठेक्का सम्झौता गरेको हो । भवन निर्माणका लागि सङ्घीय सरकार र जिल्ला समन्वय समिति बाँकेको अनुदान र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने छ । गाउँपालिकाले अहिले वडा नंं ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाहेक अन्य छ गाउँपालिकाले अहिलेसम्म पनि अस्थायी भवनबाट कार्यालय सञ्चालन गरी जनतालाई सेवा प्रवाह गर्दै आएका छन् ।