लुम्बिनी

लुम्बिनी प्रदेशका छुट्टा–छुट्टै स्थानमा गरी दुई कोरोना संक्रमितको मृत्यु

१२ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा दुई जनाको मृत्यु भएको छ । रुपन्देही र पाल्पाका थप एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै जनाको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । बुटवलको कोरोना अस्पतालमा भन्टिलेटर नपाएपछि उनलाई असोज ४ गते लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारको लागि मेडिकल कलेज गएकी थिइन् । उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।