प्रदेश 2

सप्तरीमा कोरोना संक्रमणका कारण एक ६० वर्षे पुरुषको मृत्यु

१२ कार्तिक, विराटनगर । सप्तरीका एक कोरोना संक्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सप्तरी कन्चनपुरका ६० वर्षीय पुरुषको मंगलबार दिउँसो १ बजेर १४ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो ।

उच्च रक्तचाप तथा मधुमेहको समस्याबाट पीडित पुरुषमा कार्तिक २ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि पुरुषलाई कार्तिक ३ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानका अनुसार हालसम्म कोरोना संक्रमणको उपचारका क्रममा प्रतिष्ठानमा ७८ जनाको मृत्यु भएको छ ।