समाचार

हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

११ कार्तिक, काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत् उनले सोमबार कोभिड १९ पोजेटिभ पुष्टि भएको जनाएका हुन् ।

गत साता दाजुलाई अस्पताल लाने लैजाने गरेको र गत बिहीबारदेखि टाउको दुख्ने, ज्वरो आउने र ढाड दुखाई भएको उल्लेख गर्दै उनले आइतबार पिसीआर परीक्षण गराउँदा सोमबार नतिजा पोजेटिभ आएको जनाएका छन् ।

उनले दाजु र आफूलाई पोजेटिभ देखिएकाले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा रहेको पनि उल्लेख गरेका छन् ।

उनले आफ्नो शरीरमा प्रवेश गरेको यो भाईरस शारीरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो नभएको उल्लेख गर्दै सबैको शुभकामनाले शरीरको जीत र भाईरसको हार झन् चाँडो हुने बताएका छन् ।