खेलकुद

पन्जाबद्वारा आईपीएल टी–ट्वान्टीमा कोलकातामाथि सानदार जित

११ कार्तिक, एजेन्सी । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जित निकालेको छ ।

सारजाहमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका गेलले २९ बलमा ५१ रन बनाए । उनले आईपीएलमा पन्जाबका लागि १ हजार रन समेत पुरा गरे ।

मन्दिप ६६ रनमा अविजित रहे । यस्तै कप्तान केएल राहुलले २८ रन बनाए । कोलकाताका लक्की फर्गुसन र वरुण चक्रवर्तीले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

कोलकाताका लागि शुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गनले ४० रनको योगदान गरे ।

खराब सुरुवात गरेको कोलकाताका लागि गिल र मोर्गनले चौंथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । यस्तै लक्की फर्गुसन २४ रनमा अविजित रहे ।

कोलकातालाई सस्तैमा समेट्न पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै रबि बिश्नोई र क्रिस जोर्डनले २र२ विकेट लिए । ग्लेन म्याक्स्वेल र मुरुगान आश्विनले १र१ विकेट लिए ।

यस जितसँगै पन्जाबले कोलकाताविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा कोलकाताले पन्जाबलाई २ रनले हराएको थियो ।

जितसँगै पन्जाब तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ । र, पन्जाबले प्ले अफ सम्भावना बलियो बनाएको छ । पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ । कोलकाता भने पाँचौं स्थानमा झरेको छ । कोलकाताले पनि १२ खेलमा १२ अंक नै जोडेको छ ।